२०८३ जेष्ठ ११ गते , सोमबार

काेलकाताले जित्यो तेस्रोपटक आईपीएलकाे उपाधि

sajilo news
झापा
२०८१ जेष्ठ १४ गते , सोमबार
काेलकाताले जित्यो तेस्रोपटक आईपीएलकाे उपाधि

सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गर्दै कोलकाता नाइट राइडर्सले तेस्रोपटक इन्डियन प्रिमियर लिगको उपाधि हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा कोलकाताले हैदराबादलाई ८ विकेटले पराजित गरेको हो ।

हैदराबादले प्रस्तुत गरेको १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले २ विकेटको क्षतिमा १०.३ ओभरमा पछ्यायो । कोलाकाताले यसअघि सन् २०१२ र २०१४ सिजनमा आईपीएल उपाधि जितेको थियो । सन् २०२१ को फाइनलमा पुगेपनि टोली उपाधिबाट वञ्चित बनेको थियो ।

कोलकाताका लागि वेंकटेश ऐयरले नटआउट रहँदै ५२ रन बनाए । उनले २६ बलमा ४ चौका र ३ छक्का हिर्काए । उनलाई ३२ बलमा ३९ रन बनाउँदै रहमानुल्लाह गुरबाजले राम्रो साथ दिए । हैदराबादका लापि प्याट कमिन्स र शहबाज अहमदले १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हैदराबादले १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन बनाएको थियो । निकै खराब सुरुवात गरेको हैदराबादले मात्र २१ रनमा ३ विकेट गुमाएको थियो ।

टोलीका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रन जोडे । ऐडन मार्क्रमले २० रनको योदान दिए भने हेनरिक क्लासनले १६ रन बनाए । नितिश कुमार रेड्डीले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

 

सम्बन्धित समाचार