बिर्तामोडले उचाल्यो आदर्श च्यालेन्ज कपको उपाधि
बुद्धशान्ति । बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधि बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्वारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधि कब्जा गरेको हो ।
विजेता बिर्तामोडले उपाधिसँगै नगद २ लाख रुपैयाँ हात पार्याे । मानेभन्ज्याङले १ लाख रुपैयाँमा चित्त बुझायो । यसअघिको खेलमा महत्त्वपूर्ण दुुई खेलाडी गुमाएको मानेभन्ज्याङले अपेक्षित प्रदर्शन गर्न नसक्दा उपाधि हात पार्न वञ्चित रह्यो ।
खेलको ७ औं मिनेटमा बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको हेडर मानेभन्ज्याङका गोलरक्षकको हातबाट रिवाउन्स भएको थियो । सो बललाई बिर्तामोडका अर्का डिफेन्डर विशाल दर्जीले हेड मार्फत गोल गरेका थिए । खेलको २४ औ मिनेटमा बिर्तामोडले अग्रता दोब्बर पारेको थियो । अभिषेक गुरुङको क्रस पासलाई कप्तान आशिष् चापागाईँले गोल गर्न सफल भए । त्यसै गरी इन्ज्युरी समयमा चापागाईँले नै विपक्षी गोल रक्षकसँग वान टु वानको अवस्थामा गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा मानेभन्ज्याङका सौरभ तामाङ २० यार्डबाट गरेको कढा प्रहार बिर्तामोडका गोलरक्षक सन्दीप लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ४५ औं मिनेटमा मानेभन्ज्याङका स्ट्राइकर करण राईले डी बक्समा पाएको बललाई सदुपयोग गर्न सकेनन् । ५४ औं मिनेटमा सुरज रसाइलीले प्रहार गरेको फ्री किकलाई सौरभ तामाङले पोस्टमा प्रहार गरेको भए पनि गोलरक्षक बाधक बनेका थिए । खेलको प्लेयर अफ द म्याच विजेता बिर्तामोड युनाइटेडका विशाल दर्जी घोषित भए । उनले नगद तीन हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताका उदीयमान खेलाडी आयोजक आदर्श युवा क्लबका पूजन थापा, उत्कृष्ट स्ट्राइकर बिर्तामोडका आशिष् चापागाईँ, उत्कृष्ट डिफेन्डर मानेभन्ज्याङका बिरेन प्रधान, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका योगेश गुरुङ, उत्कृष्ट गोलरक्षक बिर्तामोडका सन्दीप लिम्बु, प्रतियोगिताको उत्कृष्ट खेलाडी बिर्तामोडका देवेन्द्र तामाङ, उत्कृष्ट कोच बिर्तामोडका रमेश गुरुङ भए । उनीहरूले जनही नगद ५ हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा भारतका दुईसहित आठ टिमको सहभागिता रहेको थियो । बैशाख १५ गतेदेखि सुरु भएको प्रतियोगिताको आगामी संस्करणलाई पनि निरन्तरता दिने आयोजक समितिका खेल संयोजक मनेष दाहालले जानकारी दिए ।
एञ्जिला सहित खेलकर्मी सम्मानित
प्रतियोगिता समापनको अवसरमा अहिले उत्कृष्ट फर्ममा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तान एञ्जिला तुुम्बापोलाई नगदसहित सम्मान गरिएको थियो । उनलाई नगद २५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको हो । मेची महाकाली धावन यात्रा पुरा गर्ने जीवनाथ अधिकारी, एन्फाको १३ वर्षमुनिको टिममा पर्न सफल भाइचुुङ शेर्पा, कराते तर्फ स्वर्ण पदकधारी एलिजा घिमिरे, रिले राष्ट्रिय दौडमा स्वर्ण पदक धारी चन्द्र पुलामी मगर, तेक्वान्डो तर्फ स्वर्ण पदक धारी रेष्मा भुजेल, स्वयं. रेफ्री लोकराज ढुङ्गाना मरणोपरान्त, आदर्श युवा क्लबमा पूर्व खेलाडी तथा पशिक्षक स्वयं. विनोद गुरुङलाई मरणोपरान्त सम्मान गरिएको थियो ।