२०८३ श्रावण २९ गते , शुक्रबार
युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ
युवतीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट नेपाल प्रहरीका एक जवान पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१८ घर भएका २३ वर्षीय प्रहरी जवान आजाद मियाँ बुधवार पक्राउ परेका हुन् । पीडितले दिएको किटानी जाहेरीका आधारमा पक्राउ गरेर मियाँलाई अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए ।
उनका अनुसार प्रहरी जवान मियाँविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सञ्चार शाखामा दरबन्दी भएका उनी साउन ४ गतेदेखि त्यहाँ कार्यरत थिए ।
मियाँले विराटनगर–१७ घर भएकी युवतीलाई ललाइफकाइ विभिन्न प्रलोभन देखाएर बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख छ । घटनासँग सम्बन्धित विस्तृत विषय अनुसन्धानपछि यकिन हुने जानकारी डीएसपी श्रेष्ठले दिए ।