२०८३ श्रावण २८ गते , विहीबार

जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउसँगै कार्यालयमा प्रहरीको छापा

sajilo news
काठमाडौं
२०८३ श्रावण २८ गते , विहीबार
जनआस्थाका सम्पादक श्रेष्ठ पक्राउसँगै कार्यालयमा प्रहरीको छापा

‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं प्रकाशक किशोर श्रेष्ठलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासंघले विरोध गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक लोककृष्ण दाहालका अनुसार जनआस्था डटकममा प्रकाशित एक समाचार सामग्रीमा दिपिका सिंहले दिएको ‘वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५’ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई मंगलबार पक्राउ गरिएको हो।

प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौं लगेपछि प्रहरीले उनको निवास र कार्यालयमा छापा मारेको छ। समाचारको विषयलाई कानुनी प्रक्रिया मिचेर भएको राज्यको कदमविरुद्ध पत्रकार आन्दोलित बनेका छन्। श्रेष्ठलाई पक्राउ गरे लगत्तै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मासहितका पत्रकार तथा सञ्चारकर्मी काठमाडौँ प्रहरी परिसर टेकु पुगेर राति नै धर्ना दिएका थिए। 

पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले आज एक विज्ञप्ति जारी गरी वरिष्ठ पत्रकार श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज साउन २८ गते बिहान ९ बजे भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा धर्ना दिने कार्यक्रम तय गरेको जानकारी दिए।

समाचारप्रति असहमति वा चित्त नबुझेमा प्रेस काउन्सिल नेपाल वा स्थापित कानुनी विधि र प्रक्रियाबाट समाधान खोज्नुको सट्टा सिधै पत्रकारलाई धरपकड गर्नु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको पत्रकारसम्बद्ध संघ संस्थाको नेताको ठहर छ। 

सम्बन्धित समाचार