२०८३ श्रावण २८ गते , विहीबार

पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, १० जना बेपत्ता

sajilo news
झापा
२०८३ श्रावण २८ गते , विहीबार
पहिरोले घर पुरिँदा २ जनाको मृत्यु, १० जना बेपत्ता

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा २ जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका छन्।

बुधबार राति करिब ८ः४० बजे माथिबाट पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका छन्। घटनाको खबर राति ९ः३० बजे प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। कमलबहादुर पुन मगरसहित मानिस तथा चौपाया पहिरोमा पुरिएको खुलेको छ।

राति ११ः५५ बजे स्थानीय समेतको सहयोगमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्दार गरिएको छ। उनीहरूलाई उपचारको लागि अस्पताल पठाउने पहल भइरहेको छ।

त्यसैगरी, १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगर पहिरोमा पुरिएको अवस्थामा मृत फेला परेका छन्।

थप उद्धारका लागि आज बिहान जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओ समेतको प्रहरी टोली घटनास्थलतर्फ गएका छन्। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत घटनास्थल पुगेका छन्। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको छ।

सम्बन्धित समाचार