२०८३ श्रावण २७ गते , बुधबार

बिर्तामोडबाट दुई जनाको उद्धार, मानव सेवा आश्रममा पठाइयो

sajilo news
झापा
२०८३ श्रावण २६ गते , मंगलबार
बिर्तामोडबाट दुई जनाको उद्धार, मानव सेवा आश्रममा पठाइयो

बिर्तामोड । बिर्तामोडबाट दुई जनाको उद्धार गरी मानव सेवा आश्रम मेचीनगर पठाइएको छ। कृषिथोक नजिकै कनकाई रोडमा बेवारिसे अवस्थामा रहेका ९० वर्षीय गौरीशंकर साहु र बिर्तामोड नगरपालिका–७ स्थित तित्रीडाँगीकी ४२ वर्षीया आलेखा बेगम मियालाई उद्धार गरी आज मानव सेवा आश्रम पठाइएको हो।

बिर्तामोड नगरपालिकाका कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाको नेतृत्वमा नगर प्रहरीसहितको टोलीले उनीहरूलाई उद्धार गरेको हो। उद्धारपछि दुवै जनालाई मानव सेवा आश्रमका झापा जिल्ला संयोजक खगेन्द्र विश्वकर्मासहितको टोलीलाई जिम्मा लगाइएको कार्यवाहक नगरप्रमुख सङ्ग्रौलाले जानकारी दिए । 

मिया मानसिक असन्तुलनका कारण बजार क्षेत्रमा जथाभाबी हिँड्ने गरेको र साहु कनकाई रोडमा बेवारिसे अवस्थामा भेटिएपछि उद्धार गरिएको नगरपालिकाले जनाएको छ।

कार्यवाहक नगरप्रमुख सङ्ग्रौलाका अनुसार बिर्तामोडबाट हालसम्म ३२ जनाभन्दा बढीलाई उद्धार गरी मानव सेवा आश्रम मेचीनगरमा पठाइएको छ। मानव सेवा आश्रमका झापा जिल्ला संयोजक विश्वकर्माका अनुसार हाल मेचीनगरस्थित आश्रममा १०८ जना आश्रित छन्।

सम्बन्धित समाचार