मेचीनगरमा पहिलोपल्ट स्पोर्टस मेनिया हुँदै
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा “मेचीनगर स्पोर्टस मेनिया २०८० ” हुने भएको छ । खेलकुद विकास समिति मेचीनगरको आयोजनामा फागुन २९ गतेदेखिहुने स्पोर्टस मेनियाको तयारी तीव्र रुपमा भइरहेको छ ।
मेचीनगरमा खेलकुदको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेचीनगर स्पोर्टस मेनिया २०८० मा फुटबल, क्रिकेट, भलिबल, कबड्डी, कराते, तेक्वान्दो, बक्सिङ र एथलेटिक्सका खेलहरू हुने नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको औपचारिक जानकारी दिएको छ।
मेचीनगरको बैठक हलमा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको औपचारिक जानकारी तथा मस्कट सार्वजनिक कार्यक्रममा बोल्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोख्रेल उप्रेतीले मेचीनगर स्पोर्टस मेनियाले समग्र नगरको खेलकुदमा थोरै भएपनि टेवा पुर्याउने विश्वास लिइएको बताए । लुकेर र छरिएर रहेका खेल प्रतिभालाई उजागर गर्दै उनीहरूको उज्ज्वल भविष्यका लागि यसले थप हौसला दिने उनीहरूको भनाइ छ ।
कार्यक्रम सम्पन्न गर्न रु ५३ लाख ७७ हजार बजेट खर्च हुने अनुमान गरिएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश बस्तीले जानकारी दिए । उक्त खेलकुद खुला प्रतियोगितात्मक हुने र ५००० खेलाडी सहभागी हुने बताइएको छ ।
नगर खेलकुद विकास समितिको संयोजक हृदय राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारी, शिक्षा अधिकारी होम प्रसाद भण्डारी, समितिका उपाध्यक्ष रबिन ओझा, मेचीनगर सञ्चार प्रतिष्ठान अध्यक्ष शिशिर चम्लागाई, सचिव प्रकाश पौडेल, प्रेस क्लब मेचीनगर अध्यक्ष डम्बर बराल, अग्रज पत्रकार मोहन काजी न्यौपानेलगायत मेचीनगरका सञ्चारकर्मी, नगर खेलकुद विकास समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।