२०८३ जेष्ठ ११ गते , सोमबार

झापा गोल्डकप : मकवानपुरमाथि सानदार जित निकाल्दै झापा ११ सेमिफाइनलमा

sajilo news
झापा
२०८० फाल्गुन २४ गते , विहीबार
झापा गोल्डकप : मकवानपुरमाथि सानदार जित निकाल्दै झापा ११ सेमिफाइनलमा

बिर्तामोड । आयोजकको टिम झापा ११ एफसी झापा गोल्डकप छैटौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा पाहुना टोली एन्फा मकवानपुरलाई ५–१ गोलले हराउँदै झापाले अन्तिम चारमा स्थान बनाएको हो । झापाको जितमा आदित्य शाक्य, प्रदीप बुढाथोकी, बबिन बोहरा, आशिष् चापागाईँ र विदेशी खेलाडी मार्क जुयिनर ह्यारिसनले समान एक एक गोल गरे । मकवानपुरको लागि ओस्कारले सान्त्वना एक गोल फर्काएका हुन् ।

झापाले पहिलो हाफमा पहिलो गोल गर्दा दोस्रो हाफमा थप चार गोल गरेको हो । खेलमा अग्रता झापाले नै बनायो । खेलको २५औँ मिनेटमा आदित्यले पहिलो गोल गरेका हुन् । आशिष् चापागाईँले निकालेको थ्रु बलमा आदित्यले चलाखीपूर्ण गोल गरे । मकवानपुरका गोलकिपर गोपी बर्तौलाले बचाउने प्रयास गरे पनि सफल भएनन् । ६६औँ मिनेटमा विदेशी खेलाडी ह्यारिसनले आयोजकको लागि दोस्रो गोल गरे । दीपेश आले मगरले मध्य भागबाट मिलाएको एयर बललाई नियन्त्रण लिँदै ह्यारिसनले सुन्दर गोल गरेका हुन् । गोलकिपर गोपी अगाडि बढेर बचाउने प्रयास गरे पनि सफल भएनन् ।

मकवानपुरका ओस्कारले ६९औँ मिनेटमा एक गोल फर्काए । शमीराज थोकरले दायाँ भागबाट मिलाएको बललाई बक्समा रहेका ओस्कारले वान टचमै गोल गर्न सफल भएका हुन् । उनले अग्रता छोट्याउने प्रयास गरे पनि झापा खेलमा हाबी भएको थियो । खेलको ८३औँ मिनेटमा प्रदीप बुढाथोकीले तेस्रो गोल गरे । उनी मैदान प्रवेश गरेको पहिलो मिनेटमै गोल गर्न सफल भए । ह्यारिसनको स्थानमा मैदान प्रवेश गरेको पहिलो टचमै उनले गोल गरेका हुन् ।

खेलको इन्ज्युरी समयमा झापाले दुई गोल गर्‍यो । बबिन बोहराले चौथो गोल गरेका हुन् । बक्सभित्र पाएको अवसरलाई उनले सहजै जाली चुमाए । अर्को गोल आशिषको नाममा रह्यो । आशिषले बक्सबाहिर पाएको बललाई अगाडि बढाउँदै सुन्दर गोल गरेका हुन् ।यसअघि दुवै टोलीले गोलका निकै अवसर सिर्जना गरेका थिए । तर, फाइनल थर्डमा दुवै टोली चुके । खेलमा मकवानपुरभन्दा झापा बलियो देखियो । खेलको १८औँ मिनेटमा झापा सुन्दर गोल गर्नबाट चुक्यो । अगाडि बढाउँदै दुई रक्षक र गोलकिपर बिट गरेका ह्यारिसन अन्तिममा भने चुके । उनले खाली पोस्टमा प्रहार गरे पनि कप्तान सुरज विष्ट गोल लाइनबाट क्लियर गर्न सफल भएका थिए ।

४४औँ मिनेटमा आदित्यको शक्तिशाली प्रहार गोलकिपर गोपीले पञ्च आउट गरे । ४८औँ मिनेटमा ह्यारिसनकै प्रहार गोपीले बचाउ गरे । खेलको ७३औँ मिनेटमा आशिष् चापागाईँले बक्सभित्रबाट हानेको प्रहार बारमा लागेर फर्कियो । खेलको ६२औँ मिनेटमा मकवानपुरले अवसर बनाएपछि बक्सबाहिरबाट कप्तान सुरजले हानेको फ्रिकिक प्रहार सटिक रहेन ।  

यो खेलसँगै क्वाटर फाइनल समीकरण पूरा भएको छ । विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन् । पहिलो सेमिफाइनलमा एपिएफ र आर्मी शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । शनिबार हुने दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र झापा भिड्नेछन् । यसअघि पाँच संस्करण आयोजना हुँदा आर्मीले चार पटक उपाधि जितिसकेको छ । मनाङ मर्स्याङ्दी क्लब एक पटकको विजेता हो ।

आजको खेलको प्लेयर अफ द म्याच विजेता टिम झापाका पहिलो गोलकर्ता आदित्य शाक्य भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाए । खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै विजेता टिम झापाका प्रशिक्षक अंगुुरकुमार खड्गीले घरेलु दर्शको समर्थनले जित निकाल्न सकिएको बताए । फाइनल जित्ने गरी तयारी गरिएको उनको दाबी छ ।

पराजित टिमका प्रशिक्षक अशोक बरालले तयारी पूर्ण रुपमा गर्न नसकेको हुनाले जित निकाल्न नसकेको बताए । टिमका महत्त्वपूर्ण तीन जना खेलाडीको अभावका कारण पनि मैदानमा सेट हुन गाह्रो भएको बताए ।

प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद र आकर्षक ट्रफी पाउनेछ । उपविजेताले ७ लाख रुपैयाँमा चित्त बुझाउनेछ । फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।

 

सम्बन्धित समाचार