बागमती टाइब्रेकरमा स्तब्ध, एपिएफ झापा गाेल्डकपकाे सेमिफाइनलमा
झापा । विभागीय टाेली सशस्त्रकाे एपिएफ छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डाेमालाल रंगशालामा साेमबार भएकाे पहिलो क्वाटरफाइनल खेलमा टाइब्रेकरमा एपिएफले बागमती युथ क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलकाे यात्रा सुरक्षित गरेको हो । एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ, र दिवस लिम्बूले गोल गरे भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।
एपिएफले पहिलो चरणको खेलमा टाइब्रेकरमा संकटा फुटबल क्लबलाई हराउँदै क्वार्टरफाइनल प्रवेश गरेको थियो ।
सि डिभिजनको बागमती युथ क्लबले झापा गोल्डकपमा पहिलोपटक सहभागिता जनाएको हो । बाई पाएर क्वार्टर फाइनल खेलेको बागमतीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयमा गाेल गर्न सकेन ।
खेलको १० औँ मिनेटमा पेनाल्टी एरियाबाट बागमतीका अनिल राना मगरले गरेको कडा प्रहार फ्रेममा पर्न सकेन । २६ औँ मिनेटमा सनम धिमालले पेनाल्टी एरियाबाट गरेको प्रहार एपिएफका गोलरक्षक श्रेष्ठले पञ्च गरेर बचाए । बागमतीका निर्मल घिसिङको फ्रिकिक बारको नजिकैबाट बाहिरिएको थियो ।
खेलको ५४ औँ मिनेटमा एपिएफका दिपेश धिमालले गरेको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो । खेलको अधिकांश समय बल नियन्त्रणमा लिए पनि एपिएफको फिनिसिङमा कमजोरी देखिएको थियो ।
खेलको प्लेयर अफ द म्याच एपिएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए ।
मंगलबारको दोस्रो क्वार्टरफाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुने गाेल्डकपका अध्यक्ष विनाेद बस्नेतले जानकारी दिए ।