२०८३ जेष्ठ ११ गते , सोमबार

नामिबिया बाहिरियो, टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्स भिड्ने

sajilo news
झापा
२०८० फाल्गुन २० गते , आईतबार
नामिबिया बाहिरियो, टी-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्याण्ड्स भिड्ने

त्रिकोणात्मक टी–२० आई सिरिजको उपाधिका लागि नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ। त्रिवि क्रिकेट मैदानमा आज (आइतवार) भएको समूह चरणको अन्तिम खेलमा वर्षा बाधक बन्दा नामिबिया र नेदरल्याण्ड्सको खेल रद्द भएपछि दुवै टोलीले १/१ अंक बाँडेका हुन्।

अंक बाँड्दा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको ५ अंक भएको छ भने नामिबियाको ३ अंकमात्रै भयो। नेपालको ४ अंक रहेकाले नेपालले फाइनलमा स्थान सुरक्षित गर्दा नामिबिया प्रतियोगिताबाट बाहिरिएको छ। 

टस हारेर पहिले ब्याटिङमा तानिएको नामिबियाले १५ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ९८ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो। खेल रोकिनुअघि नामिबियाका लागि जान लोफ्टी इटनले ३४ रन र जिन ग्रिन ११ रन बनाएर खेलिरहेका थिए। वर्षा रोकिएर पुनः खेलाउने तयारी गरे पनि फेरि वर्षा शुरु भएपछि खेल रद्द भएको हो।

लिग चरणको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो। नेपालले तेस्रो खेलमा नामिबियालाई ३ रन र नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको थियो। 

आजको खेलबाट नामिबियाका बर्नार्ड मार्टिनस स्कल्जले राष्ट्रिय कीर्तिमान बनाएका छन्। नामिबियाका लागि सबैभन्दा धेरै टी–२० खेल्ने कीर्तिमान स्कल्जले आफ्नो नाममा लेखाएका हुन्। उनले सबैभन्दा धेरै ५३ टी–२० खेलेका हुन्। नेपाल र नेदरल्याण्ड्सबीचको फाइनल खेल यही फागुन २२ गते मंगलवार हुनेछ

सम्बन्धित समाचार