कोशी प्रदेशका हक्की खेलाडीलाई बिदाइ
बिर्तामोड । मधेस प्रदेशको धनुषामा हुने राष्ट्रिय महिला हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई बिदाइ गरिएको छ ।
झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले आज महिला खेलाडीहरूलाई बिदाइ गरेको हो । प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की च्याम्पियनसिप २०८० मा सहभागी हुने कोशी प्रदेशको टिममा प्रतिनिधित्व गर्ने सबै खेलाडी झापा जिल्लाबाट रहेका छन् ।
बिदाइ कार्यक्रममा संघका अध्यक्ष मनोज बुढाथोकी, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ, झापा गोल्ड कपका वरिष्ठ उपाध्यक्ष बलराम कार्की र नेपाल खेलकुद पत्रकार मञ्च झापाका निवर्तमान अध्यक्ष हिमाल खरेलले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा टिम कप्तान रञ्जना राजवंशीलाई जर्सी प्रदान गरिएको थियो ।
प्रदेशको हक्की टिमका सबै खेलाडी मेचीनगर १५ र १४ तथा भद्रपुर ९ पुँहातुबारीका रहेका छन् । धनुषामा खेल्ने टिमको प्रशिक्षकमा दीपक खतिवडा र अफिसियलमा नेत्र तामाङ रहेका छन् । कोशीकी साबिक कप्तानसहित सिर्जना तामाङसहित आठ जना खेलाडी त्रिभुवन आर्मी, मदन भण्डारी स्पोर्टस् एकाडेमीलगायतका टिममा गए पनि सशक्त युवा सदस्य समेटेर अब्बल टिम बनाइएको अध्यक्ष बुढाथोकीले बताए । कोशीको पुरुष टिम यसअघि हेटौँडामा भएको राष्ट्रिय प्रतियोगितामा उपविजेता भएको थियो ।
टिम कोशी
रञ्जना राजवंशी (कप्तान), नैना राना मगर, अल्का राजवंशी, सीमा राई, अञ्जली पाहान, पूर्णिमा राई, मनिका समरिया, हरसिता कनोजी, मोरोमी बर्मनसलिना मर्डी, सविना राजवंशी, अञ्जली कर्मकार, सन्ध्या राई, सुप्रिया तिग र अनुप्रिया बेग ।