२०८३ जेष्ठ १२ गते , मंगलबार

यस्तो गम्भीर आरोप लागेको छ पाकिस्तानी टोलीका छनोटकर्ता इन्जमाम उल हकमाथि

sajilo news
रासस
२०८० कार्तिक १४ गते , मंगलबार
यस्तो गम्भीर आरोप लागेको छ पाकिस्तानी टोलीका छनोटकर्ता इन्जमाम उल हकमाथि

काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टोलीको प्रदर्शन अत्यन्तै निराशाजनक छ । पाकिस्तानी टोली विश्वकपको पहिलो चरणबाटै घर फर्कने सम्भावना प्रबल देखिएको छ ।

हालसम्म आफूले खेलेका ६ मध्ये चार खेलमा पाकिस्तानी टोली पराजित भएको छ । चिर प्रतिद्वन्द्वी भारतसँग मात्र होइन, पाकिस्तानी टोलीले तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानसँग पनि आठ विकेटको पराजय भोगिसकेको छ । पाकिस्तान सन् १९९२ को विश्वकप विजेता राष्ट्र पनि हो ।

विश्वकपमा पाकिस्तानले लगातार निराशाजनक प्रदर्शन गरिरहँदा पाकिस्तानी टोलीका प्रमुख छनोटकर्ता इन्माम उल हकले अप्रत्याशित रूपमा आफ्नो पदबाट राजीनामा दिएका छन् । सञ्चारमाध्यम र समर्थकको निरन्तरको आक्रमणपछि इन्जमामले पदबाट राजीनामा दिएका हुन् ।

आखिर विश्वकप जारी रहँदा प्रमुख चयनकर्ता इन्जमामले अप्रत्याशित रूपमा किन पदबाट राजीनामा दिए त रु वास्तवमा आफ्नो समयका प्रभावशाली खेलाडीसमेत रहेका इन्जमाममाथि विश्वकपका लागि टोली चयन गर्दा स्वार्थ प्रेरित भएर टोली चयन गरेको आरोप लागेको छ ।
 
समर्थक र सञ्चारमाध्यमले पनि इन्जमाममाथि निरन्तर यस्तो आरोप लगाउँदै आएका छन् । खासमा ‘साया कर्पोरेसन’ पाकिस्तानको स्पोर्टस म्यानेजमेन्ट कम्पनी हो । यो कम्पनीले पाकिस्तानी टोलीका थुप्रै खेलाडीको प्रवर्द्धन गर्दै आएको छ । 

पाकिस्तानी टोलीका वर्तमान कप्तान बाबर आजम, मोहम्मद रिजवान, साहिन शाह अफरिदी, फाखर जमान, यासिर शाह, हैदर अलीजस्ता प्रभावशाली खेलाडी पनि यो स्पोर्टस म्यानेजमेन्ट कम्पनीसँग जोडिएका छन् । 

हाल भारतमा जारी आईसीसी एकदिवसीय विश्वकपमा सहभागी पाकिस्तानी टोलीमा पनि यही स्पोर्टस म्यानेजमेन्ट कम्पनीले प्रवर्द्धन गरेका अधिकांश खेलाडीले स्थान पाएका छन् । यो स्पोर्टस म्यानेजमेन्ट कम्पनीमा इन्जमामको पनि संलग्नता रहेको आरोप लगेको छ । 

पाकिस्तानी टोलीको प्रमुख छनोटकर्ताको भूमिकामा समेत रहेका इन्जमामले विश्वकपका लागि टोली चयन गर्दा स्वार्थ प्रेरित भएर आफू संलग्न स्पोर्टस म्यानेजमेन्ट कम्पनीका खेलाडीहरुलाई प्राथमिकता दिएको आरोप लगाइएको छ । 

यो स्पोर्टस म्यानेजमेन्ट कम्पनीको वर्तमान प्रमुख कार्यकारी अधिकृत टल्हा रहमानी हुन् । सबैभन्दा पहिले पाकिस्तानका एक खेल पत्रकार अब्लुल गफ्फारले सामाजिक सञ्जालमार्फत यो कम्पनीमा इन्जमामको संलग्नता रहेको आरोप लगाएका थिए ।

एकातिर विश्वकपमा पाकिस्तानी टोलीको निरन्तरको खराब प्रदर्शन अर्कोतिर प्रमुख चयनकर्तामाथि यस्तो गम्भीर आरोप । पाकिस्तानी क्रिकेट समर्थक आक्रोशित हुनु स्वाभाविक थियो । समर्थकको आक्रोश बढ्दै गएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) पनि यो विषयमा चासो देखाउन बाध्य भयो ।

केही पाकिस्तानी सञ्चारमाध्यमले त पीसीबीका केही पदाधिकारीको समेत यो स्पोर्टस म्यानेजमेन्ट कम्पनीमा संलग्नता रहेको आरोप लगाएका छन् । सोही विषयलाई लिएर पीसीबीका अध्यक्ष जाका असरफले इन्जमामसँग पटक सोधपुछ पनि गरेका थिए ।

पीसीबी अध्यक्ष असरफसँग भेटेलगत्तै इन्जमामले प्रमुख चयनकर्ताको पदबाट राजीनामा दिएका हुन् । इन्जमामले भने स्पोर्टस म्यानेजमेन्ट कम्पनी ‘साया कर्पोरेसन’ सँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन् ।
 
‘ममाथि लगाइएको आरोप निराधार छ । साया कर्पोरेसनसँग मेरो कुनै संलग्नता छैन । आफूमाथि लगाइएको आरोपको विषयमा छानबिन गर्न सजिलो होस् भनेर मैले राजीनामा दिएको हुँ । आरोप पुष्टि नभएमा म पुनः आफ्नो पदमा फर्कन सक्छु,’ पाकिस्तानी सञ्चारमाध्यमसँगको कुराकानीमा इन्जमामले भनेका छन् ।

इन्जमाम आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् । ५३ वर्षीय इन्जमामले देशका लागि १६ वर्ष क्रिकेट खेलेका थिए । उनले सन् २००७ मा दक्षिण अफ्रिकाविरुद्ध आफ्नो खेल जीवनका अन्तिम टेस्ट खेलेका थिए । उनले एक सय २० टेस्टमा २५ शतकको मद्दतले कुल आठ हजार आठ सय ३० रन बनाएका छन् ।

यसैगरी उनले देशका लागि तीन सय ७८ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल ११ हजार सात सय ३९ रन बनाएका छन् । एकदिवसीय खेलमा उनले १० शतक र ८३ वटा अर्धसतक पनि प्रहार गरेका छन् । उनले सन्न्यास लिनुअघि केवल एउटा टी—२० प्रतियोगिता खेलेका थिए ।

सम्बन्धित समाचार