२०८३ जेष्ठ १२ गते , मंगलबार

ग्रेटवालमा प्राचीन हतियार भण्डारको भग्नावशेष फेला

sajilo news
रासस
२०८० कार्तिक १ गते , बुधबार
ग्रेटवालमा प्राचीन हतियार भण्डारको भग्नावशेष फेला

बेइजिङ । युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बादलिङ ग्रेटवालको पश्चिमी भागमा अवस्थित एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्वविद्ले प्राचीन ढुंगाको ग्रिनेड फेला पारेका छन् । पुरातत्वविद्हरूले ग्रेटवालको छेउमा रहेको उक्त भवनमा हतियार भण्डारण गर्ने गोदाम रहेको विश्वास गरेका छन् ।

‘ग्रेटवालको छेउमा यस्तो हतियार भण्डारण गरेर राखिएको फेला परेको यो पहिलोपटक हो जसले हाम्रो यसअघिको धारणालाई बदलिदिएको छ,’ नगरपालिका पुरातत्व संस्थाका अनुसन्धानकर्मी साङ हेङले भने ।

यसअघि पुरातत्वविद्हरूले चार सयवटा त्यस्तै किसिमका ढुंगे ग्रिनेड फेला पारेका थिए जुन प्राचीन ग्रिनेडका आदिम संस्करण थिए । मिङ वंश (सन् १३६८ देखि सन् १६४४ सम्म)को समयमा ग्रेटवालको सुरक्षा गर्ने ती हतियारलाई सामान्य हतियार मानिएको थियो ।

‘अविस्मरणीय देखिने यी ढुंगाहरूमा बारुद भर्नका लागि बीच भागमा गोलो प्वाल बनाइएको छ, बारुद भरेपछि त्यसलाई बन्द गरेर बाहिर फ्याँक्न सकिन्छ जसले शत्रुलाई मारमात्र हान्दैन शत्रुलाई पराजित गर्न विस्फोट पनि गराउन सक्छ,’ साङले भने ।

ग्रेटवालका टावरहरूमाथि शत्रुलाई पराजित गर्न भाँडा, थाल, कचौरा, कैँची, बेल्चाजस्ता भाँडाकुँडासँगै अग्निकुण्ड र स्टोभ पनि राखिएका छन् जसले मिङ वंशमा सीमा रक्षकहरूको दैनिक जीवनलाई झल्काउँछ । उत्खनन्का क्रममा ढुंगाको किल्लासहित सीमा सुरक्षाका लागि अन्य सामग्रीहरू पनि फेला परेका थिए ।

ग्रेटवालमा धेरै अन्तरसम्बन्धित पर्खालहरू छन् । कुनै त दुई हजार वर्षअघिका पनि छन् । अहिलेको ग्रेटवालको लम्बाइ २१ हजार किलोमिटर छ । सन् २००० देखि २०२२ सम्ममा बेइजिङमा ११० वटाभन्दा बढी ग्रेटवाल संरक्षण परियोजना सम्पन्न भएका छन् । रासस/सिन्हृवा ।
 

सम्बन्धित समाचार