२०८३ जेष्ठ १२ गते , मंगलबार

अफगानिस्तानले हरायो साबिक विजेता इंग्ल्याण्डलाई

sajilo news
एजेन्सी
२०८० आश्विन २९ गते , सोमबार
अफगानिस्तानले हरायो साबिक विजेता इंग्ल्याण्डलाई

नयाँ दिल्ली । साबिक विजेता इंग्ल्याण्ड एकदिवसीय विश्वकपको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको छ । आइतबार भएको खेलमा इंग्ल्याण्ड ६९ रनले पराजित भएको हो ।

अफगानिस्तानले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ४०.३ ओभरमा २ सय १५ रन मात्र बनाउन सक्यो । योसँगै अफगानिस्तानले प्रतियोगितामा पहिलो जीत हासिल गर्न सफल भएको छ ।

इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६६ रनको योगदान दिए । त्यस्तै डेविड मलानले ३२ तथा आदिल रसिदले २० रन बनाए । अन्त्यतिर मार्क वुडले १८ रन तथा रिस टोपलेले १५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।

अफगानिस्तानका लागि मुजिब उर रहमान र रसिद खानले ३–३ तथा मोहमद नाबीले २ विकेट लिए । यसअघि अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरुबाजले सर्वाधिक ८० रनको योगदान दिए । उनले ओपनर इब्राहिम जाडरानसँग मिलेर पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । जाडरानले २८ रन बनाए ।

जाडरान आउट भएपछि भने अफगानिस्तानले लगातार विकेट गुमाउँदै गयो । ११४ रनमा बिना कुनै विकेट गुमाएको स्थितिमा रहेको अफगानिस्तानले १७४ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो ।

त्यसपछि इक्रम अलिखिलले पाली सम्हाले । उनले ५८ रन बनाए भने उनलाई रसिद खानले २३ तथा मुजिब उर रहमानले २८ रन बनाउँदै राम्रो साथ दिए ।

इंग्ल्याण्डका लागि आदिल रसिदले ३ तथा मार्क वुडले २ विकेट लिए । तीन खेलमा इंग्ल्याण्डको यो दोस्रो हार हो । यसअघि इंग्ल्याण्ड पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो ।

सम्बन्धित समाचार