२०८३ जेष्ठ १२ गते , मंगलबार

हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत

sajilo news
एजेन्सी
२०८० श्रावण ११ गते , विहीबार
हिन्दीलाई विश्वभाषा बनाउने प्रयासमा भारत

भारतले हिन्दीलाई विश्वभाषा बनाउने प्रयास थालेको छ। भाषिक विविधताको मूल्य र हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवर्द्धन गर्न भारत सरकारले संयुक्त राष्ट्रसंघलाई १० लाख अमेरिकी डलर प्रदान गरेको छ।

संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले राष्ट्रसंघको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गर्दै बहुभाषिकताको बृहत्तर उद्देश्य तथा भाषागत समावेशिता प्रवर्द्धनमा भारत सरकारको यो योगदानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

यो सहयोगबाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नाका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दीभाषीको संलग्नता पनि बढाउने विश्वास भारतीय राजदूतले व्यक्त गरे। भारत सरकारले हिन्दी भाषाको प्रवर्द्धनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

संयुक्त राष्ट्रसंघका गतिविधिको मल्टिमिडिया सामग्री र समाचारको उत्पादन, हिन्दीभाषी सर्वसाधारणसमक्ष फेसबुक, इन्स्टाग्राम, ट्विटरलगायत सामाजिक सञ्जालमा पोस्ट गर्न तथा हिन्दी भाषा बोल्नेहरूको आवाजलाई विश्वव्यापीस्तरमा पुर्‍याउन सहायता रकम उपयोग हुने बताइएको छ।

विश्वव्यापी रूपमा सबैभन्दा धेरै बोलिने भाषामध्ये हिन्दी पनि एक हो। विशेषगरी यो भाषा भारतमा बोलिन्छ भने अन्य राष्ट्रमा पनि यो भाषा बोल्नेहरू छन्। भारतले संयुक्त राष्ट्रसंघमा हिन्दीको प्रयोगलाई प्रोत्साहन गर्नुको मुख्य कारण हिन्दीभाषालाई विश्वव्यापी मान्यता दिनु हो।
 

सम्बन्धित समाचार