२०८३ जेष्ठ १२ गते , मंगलबार

भद्रपुर झापा गोल्डकप सफल पार्ने काठमाडौँका झापालीको प्रतिबद्धता

sajilo news
झापा
२०७९ पौष ३० गते , शनिबार
भद्रपुर झापा गोल्डकप सफल पार्ने काठमाडौँका झापालीको प्रतिबद्धता

भद्रपुर । राजधानी काठमाडौँलाई कर्मथलो बनाएर विभिन्न पेसा, व्यवसायमा रहेका झापालीहरूले झापाको सदरमुकाम भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका छन् ।

गोल्डकप आयोजनाका लागि सहयोग सङ्कलन गर्न काठमाडौँ पुगेको भद्रपुर झापा गोल्डकप आयोजक समितिको टोलीसँग शनिवार औपचारिक रुपमा छलफल गर्दै कोठमाडौंवासी झापालीहरूले दुई दशकपछि मेची रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेकोमा हर्ष प्रकट गर्दै सहयोग गर्न तत्पर रहेको बताएका हुन् । 

गोल्डकपकै सन्दर्भमा शनिवार चाबहिलस्थित रिभेरा इन्टरनेशनल एकेडेमीको सभाकक्षमा अन्तरक्रिया आयोजना गरिएको थियो । भद्रपुर झापा गोल्डकपको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रमका लागि वीरेन्द्र एलुम्नाइ एसोसिएसन काठमाडौँले संयोजन, रिभेरा इन्टरनेशनल एकेडेमीले सहजीकरण गरेको थियो भने झापा सरोकार समाज र भद्रपुर सरोकार समाजले सहयोग गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवम् सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा आयोजित सो अन्तरक्रियात्मक छलफलमा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले गोल्डकपका विभिन्न पक्ष र भइरहेका प्रगति बारे जानकारी गराउँदै गोल्डकप सम्पन्न गर्न ठुलो बजेट आवश्यक पर्ने भएकोले आर्थिकलगायत सबै खाले सहयोग गर्न आग्रह गरेका थिए । 

कार्यक्रममा नेपाल ग्रील व्यवसायी महासङ्घका अध्यक्ष मोहन कटुवाल, वीरेन्द्र एलुम्नाइ एसोसिएसनका अध्यक्ष कैलाश न्यौपाने, झापा समाजका अध्यक्ष डा.आनन्द श्रेष्ठ, महासचिव माधव न्यौपाने, काठमाडौँ–भद्रपुर सरोकार समाजका अध्यक्ष वेधनिधि निराला, ओम साई पाथीभरा अस्पतालका अध्यक्ष दीपक पोखरेललगायतले भद्रपुर झापा गोल्डकप काठमाडौँमा बस्ने झापालीहरूको पनि प्रतिष्ठाको विषय भएकोले प्रतियोगिता सफल बनाउने दायित्व काठमाडौँमा बस्ने झापालीहरूको दायित्व भएको उल्लेख गर्दै सहयोग पुर्‍याउन सहभागीहरूलाई आग्रह गरे । 

वीरेन्द्र एलेम्नाइ एसोसिएसनका सचिव प्रज्वल कोइरालाले सञ्चालन गरेको अन्तरक्रियामा प्रमुख अतिथि ढकालले लामो समयपछि मेची रङ्गशालामा खेलकुदको रौनक आउन लागेको भन्दै यसलाई सबै क्षेत्रबाट सहयोग पुर्‍याउनुपर्ने बताए ।

सहयोग सङ्कलनका लागि पुस २४ गते काठमाडौँ गएको आयोजक समितिको टोलीमा उपाध्यक्ष डिल्लीराम घिमिरे (हिक्मत)। महासचिव जीवनकुमार श्रेष्ठ, सल्लाहकार टिकाराज ढकालसमेतको सहभागिता छ ।

नेपालका ए डिभिजनका क्लबहरू तथा भारत, भुटान तथा क्यामरुनसमेतका चर्चित टिमहरूको सहभागितामा आगामी फागुन ७ गतेदेखि १६ गतेसम्म मेची रङ्गशालामा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुँदैछ । त्यसका लागि मेची रङ्गशालाको खेलमैदान व्यवस्थित गर्ने र रङ्गशालामा रंगरोगन गर्ने कार्य भइरहेको छ ।

 

सम्बन्धित समाचार