सेनेगल र अमेरिका विश्वकको नकआउट चरणमा
दोहा । सेनेगल र अमेरिका विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा इक्वेडरलाई २–१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो। सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक एक गोल गरे। इक्वेडरका मोइसेस सियासेडोले एक गोल फर्काए।
यस जितसँगै सेनेगल समूह ए को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो। सेनेगल जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ। सेनेगलले ३ खेलमा ६ अंक जोड्यो। इक्वेडर समूह चरणबाट बाहिरिएको छ। त्यस्तै इरानलाई हराउँदै अमेरिका फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।
मंगलबार राति इरानलाई १–० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो। अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गरे। उनले खेलको ३८ औं मिनेटमा गोल गरेका थिए। यस जितसँगै अमेरिका समूह बी को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो। इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ।