मेचीपारि आधारभूत विद्यालयका विद्यार्थीले पोसाक र स्कुल ब्याग पाएपछि दङ्ग
झापा । भारतीय सीमावर्ती नाकासँग जोडिएको भद्रपुर नगरपालिका ३ स्थित मेचीपारि आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीले विद्यालय पोसाक र स्कुल ब्याग पाएपछि दङ्ग परेका छन् ।
मेची नदी पारी गाउँका सीमान्तकृत आदिवासी र मधेसी समुदायका बालबालिकाहरू अध्ययनरत मेचीपारि आधारभूत विद्यालयमै पुगेर स्व। ओमप्रकाश गोयलको स्मृतिमा उनका भाइ भद्रपुर ६ निवासी उद्योगपति दिनबन्धु गोयलले पोसाक र स्कुल ब्याग वितरण गरेपछि विद्यार्थीहरू दङ्ग परेका हुन् ।
विद्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बिच उद्योगपति गोयल र भद्रपुर नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले विद्यालयमा जडित विद्युतीय खानेपानी फिल्टरको पानी विद्यार्थीलाई खुवाएर कार्यक्रमको उद्घाटन गरेका थिए । धारा नभएको गाउँमा विद्यार्थीले स्वच्छ र सफा खानेपानी पिउने उद्देश्यले विद्यालयलाई एक थान विद्युतीय फिल्टरसहित धाराका सामग्री समाजसेवी समेत रहेका गोयलले उपलब्ध गराएका थिए । गोयलले विद्यालयमा अध्ययनरत बाल कक्षादेखि कक्षा ७ सम्मका सम्पूर्ण विद्यार्थीलाई पोसाक र ब्याग उपलब्ध गराएका हुन ।
उद्योगपति गोयलले भद्रपुरका सामुदायिक विद्यालयहरूलाई बर्सेनि शैक्षिक सामग्रीहरू उपल्पध गराउँदै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनय राजवंशीको अध्यक्षता तथा मेयर जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष कमला थुलुङ, वडा सदस्य अरुण राजवंशी, विद्यालयका संस्थापक शिक्षक कैलाश राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक चमकलाल राजवंशीले स्वागत मन्तव्य राख्दै विद्यालयको अवस्थाको बारेमा जानकारी गराएको कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी र पत्रकार लगायतको उपस्थिति रहेको थियो । केही दिन अघि मेचीपारि गाउँका ९ जना छात्रालाई लायन्स क्लब अफ भद्रपुरले निःशुल्क साइकल प्रदान गरेका थिए ।