२०८३ श्रावण १८ गते , सोमबार

शिक्षकहरू भदौबाट आन्दोलनमा उत्रिने, महासंघले गर्‍यो निर्णय

sajilo news
काठमाडौं
२०८३ श्रावण १८ गते , सोमबार
शिक्षकहरू भदौबाट आन्दोलनमा उत्रिने, महासंघले गर्‍यो निर्णय

नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ। महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको महासचिव महासचिव तुलाबहादुर थापाले जानकारी दिए। 

‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ। आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्छ’, उनले भने । आइतबार र सोमबार बसेको महासङ्घको राष्ट्रिय परिषद् बैठकले आन्दोलनको ठोस मिति, स्वरूप र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यालय बैठकलाई दिएको जनाएको छ। परिषद्ले सरकारले पटक–पटक भएका सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलन अपरिहार्य बनेको निष्कर्ष निकालेको हो।

महासङ्घले सहमतिअनुसार अग्रगामी विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, साउन महिनादेखि नै शिक्षकलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन, अव्यवहारिक सरुवा व्यवस्था हटाउन तथा अस्थायी, राहत, ज्यालादारी, संस्थागत, ईसीडी शिक्षक र विद्यालय कर्मचारीका लागि न्यूनतम तलब सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

त्यसैगरी, प्रोत्साहन भत्ताका विषयमा देखिएको अन्योल अन्त्य गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल आधिकारिक वक्तव्य जारी गर्दै स्पष्ट तलबमान सार्वजनिक गर्नुपर्ने माग पनि महासङ्घले अघि सारेको छ।

सम्बन्धित समाचार