२०८३ भाद्र १ गते , सोमबार

मेची राजमार्गको माइखोला–राजदुवाली सडकः कहिलेसम्म सास्ती भोग्नुपार्ला ?

sajilo news
इलाम
२०८३ श्रावण ३१ गते , आईतबार
मेची राजमार्गको माइखोला–राजदुवाली सडकः कहिलेसम्म सास्ती भोग्नुपार्ला ?

पूर्वी पहाडलाई तराईसँग जोड्ने प्रमुख सडकका रूपमा रहेको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को माइखोला–राजदुवाली सडकखण्ड महिनादिन बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । पहिरो र सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग अझै सामान्य अवस्थामा फर्किन नसक्दा इलामसँगै पाँचथर र ताप्लेजुङको झापासँगको नियमित सडक सम्पर्क प्रभावित बनेको छ ।

राजदुवालीमा यसपटक समस्या सामान्य पहिरो पन्छाएर सडक खुलाउने खालको मात्र छैन, सडकको ठूलो हिस्सा भासिएर खोलातर्फ बगेको छ भने माथिल्लो भागमा समेत जमिन धसिने क्रम रोकिएको छैन । निरन्तरको वर्षा, कमजोर भू–बनोट र सडक आसपासको जमिन अस्थिर हुँदा निर्माण तथा मर्मतको काम अघि बढाउनसमेत कठिनाइ भइरहेको निर्माण कम्पनीले जनाएको छ ।

सडक डिभिजन कार्यालय इलामका अनुसार पहिरो पन्छाएर मात्रै तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । भासिएको भाग पुरेर ग्राभेल गर्ने, भित्तातर्फ अस्थायी नाली निर्माण गर्ने र सडकलाई तत्कालका लागि सञ्चालनयोग्य बनाउने तयारी भइरहेको छ । तर वर्षाका कारण बनाइएको संरचना पुनः भासिने तथा बग्ने जोखिम कायमै छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार सडक खुलाउन सुरक्षाकर्मी र स्थानीयको सहयोगमा निरन्तर काम भइरहेको भए पनि पानी पर्दा काम प्रभावित हुने गरेको छ ।

राजमार्ग बन्द भएपछि अहिले इलामतर्फ र झापातर्फबाट आएका सवारीसाधन माइखोलाको दुवैतर्फ रोकिँदै आएका छन्। यात्रुहरूले सवारीसाधनबाट ओर्लिएर पहिरो प्रभावित क्षेत्र पार गर्नुपर्ने बाध्यता छ । करिब डेढ किलोमिटर दूरी यात्रुहरूले पैदल हिँडेर पार गर्नुपर्ने अवस्था बनेको छ । सामान्य यात्रुका लागि समेत कठिन बनेको यो बाटो बिरामी, ज्येष्ठ नागरिक, बालबालिका तथा अशक्तका लागि झनै जोखिमपूर्ण छ ।

यही समस्यालाई ध्यानमा राख्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहिरो प्रभावित क्षेत्रमा यात्रु ओसारपसारमा सहयोग गरिरहेका छन् । विशेषगरी बिरामी, अशक्त र ज्येष्ठ नागरिकलाई स्टेचरमा बोकेर जोखिमपूर्ण खण्ड पार गराउने काम सुरक्षाकर्मीले गर्दै आएका छन्। राजदुवाली क्षेत्रमा प्रहरीको सहायता कक्षसमेत सञ्चालनमा राखिएको छ।

मेची राजमार्ग बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङलाई झापासँग जोड्न वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न खोजिएको मेची कर डोरअन्तर्गतको सडकसमेत सहज बन्न सकेको छैन । पुवाखोलामा बनाइएको डाइभर्सन बाढीले बगाउने र जोगमाई खोलामा पुलको अभावका कारण वैकल्पिक मार्गबाट नियमित यातायात सञ्चालन गर्न कठिन भइरहेको छ ।

सडक अवरुद्धको प्रत्यक्ष असर यातायातमा मात्र सीमित छैन। इलाम सदरमुकामसहित पहाडी जिल्लामा दैनिक उपभोग्य वस्तुको आपूर्ति र मूल्यमा समेत यसको असर परेको छ ।

सम्बन्धित समाचार