२०८३ श्रावण ३० गते , शनिबार

प्रादेशिक अस्पताल भद्रपुरमा सेवाग्राहीको भीड घटाउन अब नयाँ भवनबाट 'बिलिङ र फार्मेसी'

sajilo news
पार्थ मण्डल
२०८३ श्रावण ३० गते , शनिबार
प्रादेशिक अस्पताल भद्रपुरमा सेवाग्राहीको भीड घटाउन अब नयाँ भवनबाट 'बिलिङ र फार्मेसी'

झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीको भीड व्यवस्थापन तथा सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन पुर्जा तथा बिलिङ्ग काउन्टर र फार्मेसी नयाँ भवनबाट सञ्चालन हुने भएका छन् ।
दुईतले अस्पतालको नयाँ भवनको ल्याब कक्षबाट हाल पुर्जा तथा बिलिङ्ग काउन्टर सञ्चालन हुँदै आएको छ । 
अस्पतालको मुख्य प्रवेशद्वारमै काउन्टर राखिँदा पुर्जा तथा बिलिङ्ग गराउने सेवाग्राहीको भीड व्यवस्थापनमा समस्या तथा बिरामीलाई आवतजावतमा समेत असहज हुने गरेको जनगुनासो आउने गरेको थियो ।
यसै समस्यालाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारको एक करोड रुपैयाँ बजेटमा अस्पतालको दक्षिणपट्टि बिलिङ्ग काउन्टर, फार्मेसी र क्यान्टिनसहितको छुट्टै नयाँ भवन निर्माण गरिएको हो ।
नवनिर्मित भवनबाट सेवा सञ्चालनको तयारीस्वरूप अस्पताल प्रशासनले शुक्रबार बिहान शुभ साइतमा पूजापाठसमेत गरेको छ । अब भदौको पहिलो सातादेखि पुर्जा तथा बिलिङ्ग काउन्टर त्यही भवनबाट सञ्चालनमा ल्याइने प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। सञ्जय गुप्ताले जानकारी दिए ।
उनका अनुसार नयाँ काउन्टरमा ज्येष्ठ नागरिक, अशक्त तथा महिलाका लागि छुट्टै व्यवस्था गरिनेछ । सेवाग्राहीको भीड तथा लामो समयसम्म लाइनमा बस्नुपर्ने समस्या समाधान गर्न डिजिटल प्रणालीसहितको टोकन व्यवस्थालाई समेत थप व्यवस्थित बनाइनेछ । साथै घरबाटै अनलाइन (ओपिडी पुर्जा काट्ने) प्रविधिको सुरुवात समेत गर्न लागिएको उनले बताए । 
अहिले सञ्चालन भइरहेको अस्पतालको फार्मेसीमा पनि अत्यधिक भीड हुने गरेकोले थप एउटा फार्मेसी नयाँ भवनबाट सञ्चालन ल्याउन लागिएको हो ।  नयाँ भवनबाट काउन्टर तथा फार्मेसी सञ्चालनमा आएपछि अस्पतालमा उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीलाई सहज हुने उनको भनाई छ ।


त्यस्तै अस्पताल प्रशासनले अस्पताल परिसरभित्रै राधाकृष्णको मन्दिर बनाउन लागेको छ । सो मन्दिरको पनि शुक्रबार शिलान्यास गरिएको थियो । शिलान्यास कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ बराल, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायतको उपस्थिति रहेको थियो । 
अस्पतालले विसं. २०८१ भदौ २ गतेदेखि नवनिर्मित भवनबाट ओपिडी सेवा सुरु गरेको थियो । तत्कालीन अवस्थामा बिरामीको चाप बढी हुने ओपिडीलाई नयाँ भवनमा सारेर सेवा विस्तारको सुरुवात गरिएको थियो ।
नयाँ भवन निर्माण सम्पन्न भएपछि अस्पतालको सेवा पूर्वाधार विस्तारसँगै पछिल्ला दुई वर्षमा उपचार तथा निदानका थप सेवासमेत सञ्चालनमा आएका छन् । पुरानो भवनबाट सीमित पूर्वाधारमा सेवा दिँदै आएको अस्पताल अहिले आईएसओ प्रमाणित प्रयोगशाला, फार्मेसी, आईसीयू, एनआईसीयू, डायलिसिस, म्यामोग्राफी, सीटी स्क्यान, डिजिटल एक्स–रे, भिडियो एक्स–रे ९फ्लोरोस्कोपी० लगायतका सेवा सञ्चालनमा ल्याएका छन् । 
अस्पतालले विशेषज्ञतर्फ फिजिसियन, प्रसूति तथा स्त्रीरोग, बालरोग, हाडजोर्नी तथा ट्रमा, शल्यक्रिया, दन्त उपचार र फिजियोथेरापीजस्ता सेवा पनि विस्तार गरेका कारण बिरामीको चाप बढेको जनाइएको छ । 

सम्बन्धित समाचार