इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा आज बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ।
भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ भागेका थिए। राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमा लगायतका क्षेत्रमा करिब एक मिनेटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। प्रारम्भिक विवरणअनुसार भूकम्पबाट ठूलो क्षति भएको खबर प्राप्त भएको छैन।
बीएमकेजीका अनुसार पहिलो भूकम्प स्थानीय समयअनुसार बिहान ४ः५८ बजे गएको थियो। भूकम्प करिब १५ किलोमिटर गहिराइमा गएको र त्यसपछि लगातार परकम्पहरू आएका थिए।
भूकम्पपछि सुनामीको जोखिमलाई ध्यानमा राख्दै चेतावनी जारी गरिएको थियो। विभिन्न क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छाल रेकर्ड गरिएको बीएमकेजीले जनाएको छ।
यसैबिच, अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने उक्त समुद्री भूकम्पबाट अस्ट्रेलियाको मुख्य भूभाग, द्वीप वा अन्य भूभागमा सुनामीको खतरा नरहेको जनाएको छ।
इन्डोनेसिया भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो। यहाँ प्रशान्त महासागर वरिपरि फैलिएको सक्रिय भूकम्पीय क्षेत्र ‘रिङ अफ फायर’का कारण बारम्बार शक्तिशाली भूकम्प जाने गरेका छन्।
सम्बन्धित समाचार
कनकाईस्थित विद्युतीय शवदाह गृह कहिले सञ्चालनमा आउँछ ?
प्रियंका कार्कीको ‘मास्टर्नी’ लाई एडल्ट सर्टिफिकेट, १६ बर्ष मुनिकालाई देखाउन नपाइने
भारतको ८०औँ स्वतन्त्रता दिवस : १ करोड युवालाई एआई सम्बन्धी तालिम दिइने प्रधानमन्त्रीको घोषणा