२०८३ श्रावण २४ गते , आईतबार

पाँचथरमा रेबिजको जोखिम बढ्यो, मरे ४० भन्दा बढी पशु

sajilo news
पाँचथर
२०८३ श्रावण २४ गते , आईतबार
पाँचथरमा रेबिजको जोखिम बढ्यो, मरे ४० भन्दा बढी पशु

(युद्धबहादुर बोहोरा) । पाँचथरमा रेबिज संक्रमण पशु चौपायामा फैलिँदै गएपछि जोखिम बढेको छ। फाल्गुनन्द गाउँपालिकाका विभिन्न क्षेत्रमा रेबिज सङ्क्रमणका कारण ४० भन्दा बढी पशु मरेका छन्। फिदिम नगरपालिकामा समेत संक्रमित कुकुरले पशु तथा मानिसलाई टोकेपछि संक्रमण नियन्त्रणका लागि सतर्कता बढाइएको छ।

फिदिममा एउटा संक्रमित कुकुरले मात्रै करिब ४० वटा कुकुर, एक जना मानिस तथा केही घरपालुवा जनावरलाई टोकेको पाइएको छ। उक्त कुकुरको परीक्षण गर्दा रेबिज पुष्टि भएको थियो। त्यसपछि सम्भावित जोखिममा रहेका पशु तथा मानिसको निगरानी र उपचारलाई प्राथमिकता दिइएको छ।

संक्रमणको अवस्था बुझ्न भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख डा. राघवेन्द्र तिवारीको नेतृत्वमा पशु स्वास्थ्य विज्ञसहितको टोलीले फाल्गुनन्दका प्रभावित क्षेत्रमा स्थलगत अध्ययन गरेको छ। टोलीले रेबिजका कारण पशु मरेका गोठ तथा कटेरोको निरीक्षण गर्नुका साथै आवश्यक नमुना संकलन गरी परीक्षण गरेको थियो। परीक्षणबाट केही पशु तथा कुकुरमा रेबिज संक्रमण पुष्टि भएको जनाइएको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका निमित्त प्रमुख निरोजकुमार भट्टराईका अनुसार प्रभावित क्षेत्रमा किसान, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयसँग छलफल गरी संक्रमण नियन्त्रणका उपायबारे जानकारी गराइएको छ। जोखिमयुक्त क्षेत्रमा प्राथमिकताका आधारमा पशुचौपायालाई एन्टी-रेबिज खोप लगाउनुपर्ने अवस्था देखिएको उनले बताए।

यसैबीच, रेबिज संक्रमण फैलिएका क्षेत्रसहित जिल्लाका पशुचौपायाका लागि दुई हजार डोज एन्टी-रेबिज भ्याक्सिन उपलब्ध भएको छ। प्राप्त खोप प्रभावित क्षेत्रमा पठाएर मास भ्याक्सिनेसन सुरु गरिएको छ। फाल्गुनन्द गाउँपालिकाको पशु विकास शाखाका प्राविधिकहरू घर-गोठमै पुगेर जोखिममा रहेका पशुचौपायालाई खोप लगाउन सक्रिय छन्।

रेबिज प्रभावित क्षेत्रमा पशुचौपायाको स्याहार गर्ने क्रममा किसानले स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड पालना नगरेको समेत पाइएको छ। गम्बुट, पञ्जा र मास्क नलगाउने तथा घाँस, कुँडो दिने र गोबर सोहोर्ने क्रममा खाली हात काम गर्ने गरेको सरोकारवालाले बताएका छन्।

निमित्त प्रमुख भट्टराईका अनुसार रेबिज संक्रमित पशुको स्याहार गर्दा हातगोडा तथा नङमा रहेका स-साना घाउबाट समेत संक्रमण शरीरमा फैलिन सक्ने जोखिम हुन्छ। त्यसैले प्रभावित क्षेत्रका किसानलाई पञ्जा, मास्क, गम्बुटलगायतका सुरक्षा सामग्री प्रयोग गर्न र पशु स्याहारमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

संक्रमित वा शङ्कास्पद कुकुरको सम्पर्कमा आएका मानिस तथा पशुको समेत निगरानी भइरहेको छ। कुकुरको टोकाइमा परेका मानिस तथा संक्रमित पशुको स्याहारमा संलग्न किसानलाई जोखिम मूल्याङ्कनका आधारमा एन्टी-रेबिज खोप लगाउन थालिएको जनाइएको छ।

रेबिजका कारण पशु मर्न थालेपछि प्रभावित क्षेत्रका किसानमा त्रास बढेको छ। पशु स्वास्थ्य विज्ञहरूले खोपसँगै संक्रमित पशुको पहिचान, नियमित निगरानी, शङ्कास्पद पशुको नियन्त्रण तथा समुदायस्तरमा जनचेतना अभिवृद्धिलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

फाल्गुनन्दसँगै फिदिम क्षेत्रमा पनि संक्रमणको जोखिम देखिएकाले स्थानीय तह, स्वास्थ्य संस्था र पशु सेवा क्षेत्रका सरोकारवालाबीच समन्वय बढाइएको छ। असामान्य व्यवहार देखाउने कुकुर तथा अन्य पशुबाट टाढा रहन र टोकाइ वा सम्पर्क भएमा तत्काल सम्बन्धित स्वास्थ्य तथा पशु सेवा निकायमा जानकारी गराउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार