बिर्तामोडमा अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, चार जना घाइते
झापाको बिर्तामोडमा अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् । बिर्तामोड नगरपालिका-२ बाह्रकोटी गाउँस्थित चैतुबारी–राजगढ भित्री पक्की सडक खण्डमा आज बिहान भामटोलीबाट बिर्तासिटि अस्पतालतर्फ जाँदै गरेको मे १ ह ३८४२ नम्बरको अटोले विपरीत दिशाबाट जाँदै गरेको मे १ त ७१५३ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा अटोमा सवार झापा गाउँपालिका-४ भामटोलीका ३५ वर्षीया सुखी बिबी, सोही ठाउँका ४५ वर्षीया सलेहा बिबी, २२ वर्षीया मुस्केरा खातुन, ४८ वर्षीय हेलाल मियाँ र अटो चालक ४५ वर्षीय तयामुल हक घाइते भएका थिए । घाइतेहरूलाई उपचारका लागि बिर्तासिटि अस्पताल लगिएको थियो । गम्भीर घाइते भएका सुखी बिबीको उपचारको क्रममा दिउँसो १ बजे मृत्यु भएको झापा प्रहरीले जनाएको छ । यता दुवै सवारी साधन र ट्याक्टर चालक बिर्तामोड-२ त्रिवेणी टोलका ४५ वर्षीय खगेन्द्र बाह्रकोटीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।