खग्रास सूर्यग्रहणले सूर्य अध्ययनको अवसर
काठमाडाैँ । आगामी अगस्ट १२ मा स्पेनबाट देखिने खग्रास सूर्यग्रहणलाई वैज्ञानिकहरूले सूर्यको चुम्बकीय क्षेत्र, बाह्य वायुमण्डल र सौर्य आँधीको रहस्य बुझ्ने दुर्लभ अवसरका रूपमा उपयोग गर्ने तयारी गरेका छन् । चन्द्रमाले केही समयका लागि सूर्यलाई पूर्ण रूपमा ढाक्ने भएकाले सामान्य अवस्थामा देख्न कठिन हुने सूर्यको बाहिरी तहको प्रत्यक्ष अध्ययन गर्न सहज हुने वैज्ञानिकहरूको विश्वास छ ।
खग्रास सूर्यग्रहणका क्रममा चन्द्रमाले सूर्यको तीव्र प्रकाश छेक्ने भएकाले वैज्ञानिकहरूले सूर्यको कोरोना र क्रोमोस्फियरको विस्तृत अवलोकन गर्नेछन् । फ्रान्सको आणविक ऊर्जा आयोग (सिइए) का खगोलशास्त्री एलन साचा ब्रुनका अनुसार यस अध्ययनले सूर्यको गतिविधिलाई सञ्चालन गर्ने भौतिक प्रक्रियालाई अझ राम्रोसँग बुझ्न र यसको दीर्घकालीन विकासक्रमको व्याख्या गर्न सहयोग पुर्याउनेछ ।
वैज्ञानिकहरूले सूर्यबाट निरन्तर निस्कने आवेशित कण, प्लाज्मा र सौर्य आँधीको व्यवहारबारे पनि थप जानकारी सङ्कलन गर्ने योजना बनाएका छन् । यस्ता सौर्य आँधीले पृथ्वीको चुम्बकीय क्षेत्रमा प्रभाव पार्दा उपग्रह, अन्तरिक्षयान, सञ्चार प्रणाली र विद्युत् सञ्जालमा अवरोध सिर्जना गर्न सक्छन् भने ध्रुवीय क्षेत्रमा देखिने अरोरा पनि यिनै प्रक्रियाको परिणाम मानिन्छ ।
ब्रुनका अनुसार सूर्यको गतिविधि करिब ११ वर्षको चक्रमा चल्ने गर्छ र सन् २०२४ मा वर्तमान २५औँ चक्रको उच्च विन्दुमा पुगेको थियो । उनले चन्द्रमा सूर्यभन्दा करिब ४०० गुणा सानो भए पनि पृथ्वीसँग लगभग ४०० गुणा नजिक भएकाले खग्रास सूर्यग्रहण सम्भव भएको उल्लेख गर्दै यसलाई वैज्ञानिकका लागि असाधारण प्राकृतिक अवसरका रूपमा व्याख्या गरे ।
सामान्य अवस्थामा वैज्ञानिकहरूले कोरोनोग्राफयुक्त अन्तरिक्ष उपकरणबाट सूर्यको बाहिरी वायुमण्डल अध्ययन गर्ने भए पनि खग्रास सूर्यग्रहणले कोरोना र सूर्यको सतहबिच रहेको क्रोमोस्फियरलाई प्रत्यक्ष अवलोकन गर्ने दुर्लभ अवसर प्रदान गर्छ । सूर्यको कोरोना करिब एक करोड किलोमिटरसम्म फैलिएको भए पनि यसको तापक्रम २० लाख डिग्री सेल्सियससम्म पुग्न सक्छ ।
युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले पनि ग्रहणका क्रममा सौर्य हावा र सौर्य आँधीको संरचना तथा त्यसको पूर्वानुमानसम्बन्धी अध्ययन गर्ने जनाएको छ । इएसएका विज्ञान निर्देशक क्यारोल मुन्डेलका अनुसार सौर्य आँधी कसरी विकसित हुन्छ र त्यसको विश्वसनीय पूर्वानुमान कसरी गर्न सकिन्छ भन्ने विषय अहिलेको प्रमुख अनुसन्धानको केन्द्रमा रहेको छ ।
सन् २०२० मा प्रक्षेपण गरिएको इएसएको ‘सोलार अर्बिटर’ यानले सूर्यको वातावरणबारे नियमित तथ्याङ्क सङ्कलन गरिरहेको छ भने ‘प्रोबा–३’ अभियानले अन्तरिक्षमै कृत्रिम सूर्यग्रहण सिर्जना गरेर अनुसन्धान गरिरहेको छ । भविष्यमा ‘मेसोम’ नामक अर्को अभियानमार्फत चन्द्रमाको छायाबाट अझ लामो समय सूर्यको अध्ययन गर्ने योजना पनि अघि बढाइएको छ ।
युनिभर्सिटी कलेज लन्डनकी सौर्य भौतिकशास्त्री लुसी ग्रीनले खग्रास सूर्यग्रहण वैज्ञानिक मात्र नभई, कलाकार र सर्वसाधारणका लागि पनि प्रेरणाको स्रोत रहेको बताउँदै यस्ता प्राकृतिक घटनाले अन्तरिक्ष विज्ञानसम्बन्धी नयाँ अनुसन्धानलाई निरन्तर ऊर्जा प्रदान गर्ने बताए ।