२०८३ श्रावण २० गते , बुधबार

स्पेसएक्स रकेटको टुक्रा आज चन्द्रमामा ठोक्किने, पृथ्वीमा जोखिम कति ?

sajilo news
एजेन्सी
२०८३ श्रावण २० गते , बुधबार
स्पेसएक्स रकेटको टुक्रा आज चन्द्रमामा ठोक्किने, पृथ्वीमा जोखिम कति ?

स्पेसएक्सको फाल्कन–९ रकेटको दोस्रो चरण आज (बुधबार) चन्द्रमाको सतहमा ठोक्किने अनुमान गरिएको छ । करिब ४ मेट्रिक टन तौल र स्कुल बसजत्रो आकारको उक्त रकेटको टुक्रा नेपाली समयअनुसार दिउँसो करिब १ः२० बजे चन्द्रमामा बज्रिने अपेक्षा गरिएको छ ।

जनवरी २०२५ मा फायरफ्लाई एरोस्पेसको चन्द्रयान प्रक्षेपणका लागि प्रयोग गरिएको यो रकेटको दोस्रो चरण इन्धन सकिएपछि अन्तरिक्षमा अनियन्त्रित रूपमा घुमिरहेको थियो। वैज्ञानिकहरूका अनुसार गुरुत्वाकर्षण र सौर गतिविधिको प्रभावले यसको मार्ग परिवर्तन भई चन्द्रमातर्फ पुगेको हो ।

स्पेसएक्सका अनुसार रकेटको टुक्रा चन्द्रमाको पश्चिमी भागस्थित ‘आइन्स्टाइन क्रेटर’ आसपास करिब ८ हजार ६ सय ९० किलोमिटर प्रतिघण्टाको गतिमा ठोक्किन सक्ने अनुमान छ । टक्करपछि ठूलो मात्रामा चन्द्रमाको धुलो उड्ने भए पनि पृथ्वीबाट नांगो आँखाले यो दृश्य देख्न कठिन हुने बताइएको छ ।

स्पेसएक्सले यो घटना नियोजित नभएको स्पष्ट पारेको छ । रकेटको दोस्रो चरणमा इन्धन सकिएकाले त्यसलाई नियन्त्रण गरेर अन्यत्र मोड्न सम्भव नभएको कम्पनीले जनाएको छ ।

वैज्ञानिकहरूले यस घटनाबाट तत्काल कुनै जोखिम नरहे पनि भविष्यमा चन्द्रमामा हुने मानव अभियान र त्यहाँ रहेका उपकरणको सुरक्षाका लागि अन्तरिक्ष फोहोर व्यवस्थापन ठूलो चुनौती बन्दै गएको बताएका छन्। नासा र स्पेसएक्सले भविष्यमा यस्ता अनियन्त्रित टक्कर रोक्ने उपायबारे छलफल गरिरहेका छन् ।

सम्बन्धित समाचार