२०८३ श्रावण १९ गते , मंगलबार

काँकडभिट्टा नाकाबाट लत्ताकपडाको तस्करी अझै रोकिएन, १८ लाख ७४ हजार बढीका सामान बरामद

sajilo news
पार्थ मण्डल
२०८३ श्रावण १९ गते , मंगलबार
काँकडभिट्टा नाकाबाट लत्ताकपडाको तस्करी अझै रोकिएन, १८ लाख ७४ हजार बढीका सामान बरामद

भद्रपुर । झापाको मेचीनगरस्थित काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्रिने लत्ताकपडाको तस्करी अझै रोकिएको छैन। सीमामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको नियमित निगरानी तथा चेकजाँच हुँदाहुँदै पनि विभिन्न उपाय अपनाएर भारतबाट अवैध रूपमा लत्ताकपडा, कस्मेटिक तथा अन्य सामग्री नेपाल भित्र्याउने क्रम जारी रहेको पाइएको छ।

यसैक्रममा मंगलबार दिउँसो २ः१० बजे मेचीनगर नगरपालिका–७ सुन्दर टोल क्षेत्रमा ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले विशेष सूचनाको आधारमा भारतबाट भन्सार छलेर ल्याई भण्डारण गरिएको ठूलो मात्रामा लत्ताकपडा, कस्मेटिक सामग्री तथा हार्डवेयरका सामान बरामद गरेको छ । 

संयुक्त टोलीले मेचीनगर–७ निवासी कोपिला तामाङको घरमा खानतलासी गर्दा घरभित्र लुकाइराखिएको ठूलो परिमाणको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सबै सामग्री आवश्यक कानुनी प्रक्रियापछि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाका निमित्त गणपति तथा डिएसपी मदनकुमार रसाइलीका अनुसार बरामद गरिएका सामानको भन्सार मूल्य १८ लाख ७४ हजार ९१० रुपैयाँ कायम गरिएको छ। सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरी बलको सक्रियता निरन्तर जारी रहेको उनले बताए । उनले विशेष सूचनाका आधारमा नियमित निगरानी, संयुक्त गस्ती तथा खानतलासी अभियानलाई थप प्रभावकारी बनाइएको जानकारी दिए।

यद्यपि पछिल्ला केही समयमा यता काँकडभिट्टा नाका हुँदै भन्सार छलेर सामान धमाधम भित्रिरहेको छ । यसअघि पनि सशस्त्र प्रहरीले विभिन्न समयमा लाखौँ रुपैयाँ बराबरका लत्ताकपडा तथा अन्य सामग्री बरामद गरिसकेको समाचार सार्वजनिक भइसकेको छ । पछिल्लो बरामदले सीमामा सुरक्षा निगरानी कडा रहे पनि तस्करीको सञ्जाल अझै सक्रिय रहेको सङ्केत गरेको छ। सीमावर्ती क्षेत्रमा तस्करहरूले घर, गोदाम तथा सवारी साधन प्रयोग गरी सामान भण्डारण गर्ने र त्यसपछि बिर्तामोड हुँदै देशका विभिन्न स्थानमा पुर्‍याउने गरेको सुरक्षा निकायको निष्कर्ष छ। लत्ताकपडा भन्सार छलेर भित्रिन थालेपछि भद्रपुर भन्सारको राजश्वमा पनि भारी गिरावट आएको छ । 

सम्बन्धित समाचार