२०८३ श्रावण १९ गते , मंगलबार

कचनकवलको भुतेश्वर महादेव मन्दिर : जहाँ भाकलस्वरूप बाछो चढाउने अनौठो परम्परा

sajilo news
झापा
२०८३ श्रावण १९ गते , मंगलबार
कचनकवलको भुतेश्वर महादेव मन्दिर : जहाँ भाकलस्वरूप बाछो चढाउने अनौठो परम्परा

धार्मिक परम्परा अनुसार अन्य धार्मिकस्थलमा नगद र जिन्सी सामान चढाउने गरिन्छ । तर, दक्षिणी झापाको चर्चित धार्मिकस्थल भुतेश्वर महादेव मन्दिरमा भाकलको रुपमा बाछो(बहर) चढाउने परम्परा बढ्दै गएको छ ।

कचनकवल गाउँपालिका-१ मगरमारास्थित त्यस मन्दिरमा भाकलस्वरुप भक्तजनहरूले बाछो चढाउने गरेको पाइएको हो । आफ्नो मनोकामना पूरा भएपछि त्यस शिवालय मन्दिरमा शिवको वाहन बाछो चढाउने गरेका छन् । साउने सोमवारका दिन जल चढाउने भक्तजनहरूको भीड लाग्ने गरेको छ । यस वर्ष तीन वटा सोमवार गरी ४७ वटा बाछो भाकलको रुपमा चढाइएको भुतेश्वर महादेव संरक्षण समितिले जनाएको छ । पहिलो सोमवार ४ वटा , दोस्रो सोमवार १८ वटा , तेस्रो सोमवार २५ वटा बाछो चढाइएको मन्दिर समितिका सचिव केमानन्द राजवंशीले बताए । तिथिले दुईवटा साउने सोमवार बाँकी रहेकाले करिब सय वटाको हाराहारीमा बाछोको सङ्ख्या पुग्न सक्ने उनले बताए । विगतका वर्षको तुलनामा बाछो चढाउने भक्तालुहरूको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष ५० वटाको हाराहारीमा बाछो चढाइएको उनले जानकारी दिए ।

सचिव राजवंशीका अनुसार दानमा आएका बाछोहरूलाई बिक्री गरी आम्दानीमा बाँध्ने गरिएको छ । पाल्न खोज्ने किसान र व्यापारीहरू बाछो किन्न मन्दिरमै पुग्ने गरेका छन् । ‘एउटा बाछो हजारदेखि ३ हजारसम्म बिक्री हुने गरेको छ ’सचिव राजवंशीले भने ,‘ यति धेरै बाछो पाल्न नसकिने भएकाले सबै बिक्री गर्छौँ ।’ भक्तालुहरूले बाछोसँगै सुन चाँदी र नगद पनि दानस्वरुप चढाउने गरेका छन् । गत वर्षको साउन महिनामा नगद र जिन्सी गरी करिब १० लाख भेटी संकलन भएको थियो । त्यसमध्ये खर्च कटाएर करिब ५ लाख रुपैयाँ बचत गरी कोषमा राखिएको सचिव राजवंशीले बताए ।

२०१२ सालमा बैजनाथ राजवंशीले भुतेश्वर महादेवको मन्दिर निर्माण गरिदिएका थिए ।उनैले मन्दिरलाई २ विगाह १६ कट्ठा जग्गा दान दिएका थिए । २०५५ सालदेखि त्यस मन्दिरमा मन्दिर समितिले बोलबम शुरु गरेको हो । २०१२ सालमा दुई जना साधुहरूले मन्दिरको स्थापना गरेपनि डाकाहरूले लगातार आक्रमण गरी साधुहरूलाई मन्दिर छोड्न बाध्य पारे। त्यसपछि २०५५ सालदेखि स्थानीयहरूले भुतेश्वर महादेवको नामले मन्दिरलाई पुनर्जीवित गर्दै साउने पर्वमा बोलबम मेला प्रारम्भ गरेका थिए ।

पालिका, प्रदेश र विभिन्न दाताहरूको सहयोगमा भुतेश्वर महादेवको मन्दिरलाई पर्यटकीय स्थलको रूपमा विकास गरिएको छ। भुतेश्वर महादेवको मन्दिरलाई धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न विभिन्न भौतिक संरचनाहरू निर्माण गरिएका छन् । पहिला सँगै जोडिएको भुतेश्वर बाबा र बोलहरिको मन्दिर मात्र रहेको थियो । तर, अहिले बद्रीनाथ ,गणेश , कार्तिक , हनुमान , पार्वती ,शिवशक्ति , कैलाश र गंगाको मन्दिर निर्माण गरिएको छ । छेउमै महादेवको विशाल मन्दिर बनाइएको छ भने स्नान गर्ने पोखरी व्यवस्थापन गरिएको छ । त्यस्तै हवन कुण्ड , धर्मशाला , सत्सङ्ग भवन, प्रसाद वितरण गर्ने घर पनि बनाइएको छ ।

साउनको प्रत्येक सोमवार जल चढाउने भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ । आदिवासी राजवंशी समुदायमा भुतेश्वर महादेवको दर्शन गर्दा आफ्ना मनोकामना पूरा हुने विश्वास रहेको छ । त्यही भएर प्रत्येक सोमबार, शिवरात्रि र साउने पर्वमा भक्तजनहरूको उपस्थिति रहने गरेको छ। परम्परागत रुपमा प्रत्येक वर्ष साउन महिनाभर सोमवारका दिन यस मन्दिरमा विशेष मेला लाग्ने गर्दछ । हिन्दु धर्मावलम्बीहरू यो महिनाभर शाकाहारी भई सोमवार व्रत बस्ने र शिवालयमा जल अर्पण गर्ने प्रचलन छ। यसरी व्रत बसेर भगवान् शिवको पूजा गरे दीर्घायु, सुख र शान्ति प्राप्त हुने विश्वास गरिन्छ।  आफूले मागेको मनोकामना पूरा हुने आस्था र विश्वासका साथ भारतको विहार , बङ्गाल र नेपालको विराटनगरसम्मका भक्तजनहरू आउने गरेको मन्दिर समितिका सचिव राजवंशीले बताए ।

सम्बन्धित समाचार