भद्रपुर नगरस्तरीय हाजिरी जवाफमा सरस्वती मावि प्रथम
झापाको भद्रपुरमा प्रविधियुक्त माध्यमिक तह नगर स्तरीय हाजिरी जवाफ प्रतियोगितामा भद्रपुर-२ स्थित सरस्वती माध्यमिक विद्यालय प्रथम भएको छ । प्रथम भएसँगै सो विद्यालयले १५ हजार नगदसहित सम्मानपत्र र ट्रफि हात पारेको छ ।
श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपाल भद्रपुर नगरले शनिवार श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रम भद्रपुर-६ मा आयोजना गरेको कार्यक्रममा भद्रपुर-१० को नेश्नल मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुल दोस्रो र भद्रपुर-७ को एमरेल्ड एकाडेमी तेस्रो भएका थिए ।
समितिका अध्यक्ष हुतराज नेपाल (उत्तम)को सभापतित्व तथा भद्रपुर मारवाडी महिला मञ्चकी अध्यक्ष निलम गोयलको प्रमुख आतिथ्यमा उनीहरूलाई क्रमशः दश हजार र पाँच हजार नगदसहित सम्मान पत्र , ट्रफि र मेडल प्रदान गरिएको थियो भने ब्राइट स्टार, डोल्मा र प्रज्ञा स्कुललाई सान्त्वनासहित पुरस्कृत गरिएको थियो । विजेताहरूलाई प्रथम पुरस्कार दाता हल्दीबारीका कुमार भण्डारी,सुमन मैनाली र भवानी सिवाकोटीले नगद सौजन्य गरेका थिए । त्यसैगरी भद्रपुर २ का शिवकुमार राजभण्डारीले दोस्रो र चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओलीले तेस्रो पुरस्कार सौजन्य गरेका थिए ।
नगर भरिका सामुदायिक तथा संस्थागत विद्यालयमध्ये एक्काइस वटा विद्यालयले प्रवेश परीक्षामा भाग लिएका थिए । परीक्षाबाट ६ वटा विद्यालय हाजिरी जवाफमा छनोट भएका थिए ।
कार्यक्रममा आर्स विज्ञानका अध्यक्ष विष्णुदेव खतिवडा र समितिका सल्लाहकार सदस्य ऋषि नेपालले निर्णायकको भूमिकामा रहेका थिए भने भाषा अनुवादक सन्तोष घिमिरेले क्विज मास्टर र समितिका सचिव खेमराज नेपालले प्राविधिकको भूमिका निर्वाह गरेका थिए ।
समितिका सदस्य कमलनयन निरौलाले सञ्चालन गरेको कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझी, श्री वैदिक सनातन धर्म संरक्षण समिति नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद ओझा,जिल्ला अध्यक्ष मोहनप्रसाद घिमिरे, नगरका संस्थापक अध्यक्ष नवीन भट्टराई, दोस्रो पुरस्कार दाता शिवकुमार राजभण्डारी ,तेस्रो पुरस्कार दाता चेतना नेपालका अध्यक्ष इन्द्रप्रसाद ओली , समाजसेवी राजकुमार राई लगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थालाई सहयोग पुर्याउने विभिन्न दाताहरूलाई सम्मान गरिएको थियो । समितिका उपाध्यक्ष उदय प्रसाद खनालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा फुलमुन एकाडेमीले स्वागत नृत्य र नीरज पोखरेलले साङ्गीतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।