३ लाख घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी अख्तियारको फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय, लगनखेल, ललितपुरका तीन नायब सुब्बासहित ६ जनालाई तीन लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको जनाएको छ ।
आयोगकाअनुसार भूमि प्रशासन कार्यालय लगनखेलका नायब सुब्बा उत्तम कुँवर, विशाल सुन्दास र राजकुमार मगर तथा लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समिर कटवाल लगायतको मिलेमतोमा जग्गाको बकसपत्र गराइदिने कामका लागि सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
त्यसक्रममा अख्तियारको टोलीले उनीहरूलाई सेवाग्राहीबाट घुसस्वरूप ३ लाख रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । साथै, उनीहरूको साथबाट स्रोत नखुलेको २४ हजार ८९० रुपैयाँ समेत बरामद गरिएको आयोगले जनाएको छ ।
उनीहरूलाई ललितपुर महानगरपालिका-४ स्थित एक होटलबाट शनिबार नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।