झापामा १५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनी, कलेज विद्यार्थी मुख्य निशानामा
झापामा १५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनी लुकेर रहेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले हिजोदेखि शुरु गरेको ‘लागूऔषधविरुद्ध झापा अभियान’ को उद्घाटनमा प्रहरी उपरीक्षक बसुन्धरा खड्काले सो तथ्याङ्क सार्वजनिक गरेकी हुन् ।
तर, लागूऔषधको क्षेत्रमा काम गर्ने संस्थाका अनुसार झापामा २० हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ता रहेको अनुमान गरिएको छ । जिल्लामा ४० वटा पुनर्स्थापना केन्द्रमा सरदर ३० जनाका दरले एक पटकमा १२०० जना उपचारमा जाने गरेका छन् । बाँकी बाहिर छन् । झापामा कारोबारीको सङ्ख्या पनि उत्तिकै धेरै रहेको छ । सवडिलर टोलैपिच्छे रहेको बताइन्छ । झापामा सक्रिय डिलर ५०/५२ वटा रहेको अनुमान गरिएको छ। साथै घुम्ती बिक्रेता पनि रहेको बुझिएको छ । उनीहरू स्कुल र कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर लागूऔषध आपूर्ति गर्ने गरेका छन् । बिर्तामोडमा ११/१२ जति ठूला डिलर छन् भने घुम्ती बिक्रेता ५/७ वटा टिम रहेका छन् । शुरु शुरुमा किनेर लागूऔषध प्रयोग गर्नेहरू पछि बिक्रेता बन्ने गरेका छन् ।
झापामा लागूऔषधको वास्तविक आकार हामीले देखेको भन्दा धेरै ठूलो रहेको प्रहरीको समेत बुझाइ छ । प्रहरीले देखेको र कारबाही गरेको सङ्ख्या समस्याको टुप्पो मात्र भएको भन्दै प्रहरी उपरीक्षक खड्काले समाजभित्र लुकेको लागूऔषध दुर्व्यसनीहरूको हिस्सा भयानक रहेको जानकारी दिइन् । उनका अनुसार लागूऔषधमा संलग्न भएका कारण झापामा ९२४ जना राज्यको नियन्त्रणमा रहेका छन् । कैदी ३७६ जना , बन्दी ३४० जना र २०८ जना हिरासतमा छन् । त्यस्तै लागूऔषधको दुर्व्यसनबाट छुटकारा पाउन १ हजार ३९५ जना स्व उपचारमा छन् । १ हजार २६२ जना पुनर्स्थापना केन्द्रमा र १३३ जना ओएसटी प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत रहेको तथ्यांकमा उल्लेख छ ।
पाँच वर्षे तथ्यांकलाई हेर्दा झापामा लागूऔषधको घटना बढ्दो छ । २०७८/०७९ मा २०० जना , २०७९/०८० मा २०६ , २०८०/०८१ मा २९७ , २०८१/०८२ मा ३४५ र चालु आर्थिक वर्षको जेठ सम्ममा ३५२ जना पक्राउ परेका छन् ।
लागूऔषधको देशभरिकै ट्रान्जिट पोइन्ट बनेको झापाका कुनै पनि पालिका लागूऔषधको समस्याबाट अछुतो रहेको छैन । सबैभन्दा बढी प्रभावित मेचीनगर , भद्रपुर , बिर्तामोड र दमक रहेका छन् ।
चालु आर्थिक वर्षको ११ महिनाको अवधिको वारदात स्थलको आधारमा तथ्याङ्क निकाल्दा सबैभन्दा बढी मेचीनगरमा पक्राउ परेका छन् । भारतबाट लागूऔषध लिएर आउँदै गर्दा सबैभन्दा बढी सीमावर्ती क्षेत्र मेचीनगरमा पक्राउ परेका हुन् । मेचीनगरमा ९२ , भद्रपुरमा ७७ , बिर्तामोडमा ४५ , दमकमा ३२ , अर्जुनधारामा १६, गौरीगंजमा १३ , कमलमा ७, गौरादहमा ६ , बुद्धशान्तिमा ५ , कचनकवलमा २ र हल्दिवारीमा एकजना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय भद्रपुरले तीन महिनाको अवधिमा नियन्त्रणमा लिइएका ९४ जनामा सर्वेक्षण गरेको थियो । जसअनुसार लागूऔषधमा संलग्न ९८ प्रतिशत पुरुष रहेका छन् । २० देखि ४० वर्ष उमेर समूहका ९० प्रतिशत युवा छन् । लागूऔषधमा फस्नेहरूमा अधिकांश मजदुर वर्ग छन् । होटेल लजमा काम गर्ने , टेक्निसियन , मिस्त्री , चालक ९१ प्रतिशत संलग्न रहेको पाइएको छ । दुई प्रतिशत मात्र विद्यार्थी संलग्न छन् । त्यस्तै ७४ प्रतिशत विवाहित मानिसहरू संलग्न रहेको तथ्यांकमा उल्लेख छ ।१५ प्रतिशत बाहिरबाट आउनेहरू छन् भने ७० प्रतिशतले शरीरको गोप्य अङ्गमा लागूऔषध लुकाएर ल्याउने गरेका छन् ।
लागूऔषधको संकटको मुख्य जरो भारतसँगको खुल्ला सीमा रहेको छ । भारतीय सीमावर्ती क्षेत्र पानीट्यांकी , गलगलिया , दिघलबैंकलगायतका क्षेत्रबाट झापामा लागूऔषध आपूर्ति हुने गरेको छ । खुल्ला सीमा , साथीको संगत , बेरोजगारी र गरिबी , पारिवारिक मौनता, सहज उपलब्धता , विद्यालयको कमजोर निगरानी , मानसिक तनावजस्ता कारणले लागूऔषधमा फस्ने गरेका छन् ।
लागू औषधकै कारण चोरी डकैती र अपराध वृद्धि , घरेलु हिंसा , आत्महत्या र दुर्घटना , मानसिक र शारीरिक रोग, पारिवारिक बिखण्डन , सामाजिक अस्थिरता र डरजस्ता समस्या देखिने गरेको छ ।
राष्ट्रिय परिदृश्यमा कोशी प्रदेश लागूऔषधको उच्च संकटमा रहेको छ । त्यसमा पनि झापा सबैभन्दा बढी प्रभावित ट्रान्जिट पोइन्टको रुपमा रहेको छ ।