२०८३ असार ५ गते , शुक्रबार

झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु, महिला गम्भीर घाइते

sajilo news
पार्थ मण्डल
२०८३ असार ५ गते , शुक्रबार
झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु, महिला गम्भीर घाइते

झापा । झापाको कनकाईमा ट्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा बाबु–छोरीको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।
आज दिउँसो करिब १२ बजे कनकाई नगरपालिका–५ तुलसीबारीस्थित भित्रि सडकमा सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकल र खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका–३ निवासी २० वर्षीय समिर अली, उनकी ५ वर्षीया छोरी हाजिरा खातुन तथा पछाडि सवार उनकी आमा ४५ वर्षीया नुरेशसादेवी घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि कनकाई अस्पताल, सुरुङ्गा लगिएकोमा चिकित्सकले चालक अली र छोरी हाजिरालाई मृत घोषणा गरेका हुन् ।

गम्भीर घाइते नुरेशसादेवीलाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर चालक कनकाई नगरपालिका–५ निवासी ४६ वर्षीय चक्रबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । 
 

सम्बन्धित समाचार