२०८३ असार ५ गते , शुक्रबार

भद्रपुरका ९ सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

sajilo news
झापा
२०८३ असार ५ गते , शुक्रबार
भद्रपुरका ९ सामुदायिक विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न

भद्रपुर । भद्रपुर नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालय–अभिभावक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले सञ्चालन गरेको अभिभावक शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा नगर क्षेत्रका ९ वटा सामुदायिक विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम जेठ २५ गते हिमाली माध्यमिक विद्यालयबाट सुरु भई बिहीबार पुहाँतुजनज्योति माध्यमिक विद्यालयमा समापन भएको हो। ९ दिनसम्म सञ्चालन भएको कार्यक्रममा ६२४ जना अभिभावक सहभागी भएको नगरपालिकाले जनाएको छ। कार्यक्रमका सहजकर्ता इलामका शैक्षिक प्रशिक्षक पूर्णप्रसाद गौतम रहेका थिए।

कार्यक्रममा अभिभावक र विद्यालयबीच सकारात्मक सम्बन्ध विकास गर्ने, घरमा बालबालिकासँग अभिभावकले अपनाउनुपर्ने व्यवहारबारे जानकारी दिने, विद्यार्थीमा अध्ययनप्रति रुचि बढाउन अभिभावकको भूमिका स्पष्ट पार्ने तथा सामुदायिक विद्यालयको विकासमा अभिभावकको दायित्वबारे सचेत गराउने विषयमा प्रशिक्षण दिइएको थियो। साथै शिक्षक, विद्यार्थी र अभिभावकबीचको सहकार्यको महत्वबारे पनि छलफल गरिएको थियो।

उक्त कार्यक्रम हिमाली माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, सगरमाथा माध्यमिक विद्यालय, अरनिको माध्यमिक विद्यालय, भद्रपुर माध्यमिक विद्यालय, वीरेन्द्र माध्यमिक विद्यालय, चन्द्रभानुज्योति माध्यमिक विद्यालय, पशुपतिनाथ आधारभूत विद्यालय र पुहाँतुजनज्योति माध्यमिक विद्यालयमा सञ्चालन गरिएको शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए । 

कार्यक्रम सम्पन्न भएपछि भद्रपुर नगरपालिकाको सभाहलमा नगर क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागितामा समीक्षा कार्यक्रमसमेत आयोजना गरिएको थियो। समीक्षा कार्यक्रममा कार्यक्रमको प्रभाव, अभिभावकको उत्साहजनक सहभागिता तथा आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।

नगरपालिकाले आगामी शैक्षिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा अभिभावक शिक्षा समन्वय समिति गठन गरी नियमित रूपमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारेको छ। यसले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सम्बन्ध अझ बलियो बनाउँदै सामुदायिक विद्यालयको समग्र शैक्षिक वातावरण सुधारमा टेवा पुग्ने अपेक्षा गरिएको नगरप्रमुख गणेश पोखरेलले बताए ।  भद्रपुर नगरपालिकाले शिक्षाको गुणस्तर सुधारमा अभिभावकको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

सम्बन्धित समाचार