२०८३ जेष्ठ १२ गते , मंगलबार

शिवसताक्षीका दिदीबहिनीको काँध आमाको अन्तिम यात्रामा

sajilo news
झापा
२०८३ जेष्ठ १२ गते , मंगलबार
शिवसताक्षीका दिदीबहिनीको काँध आमाको अन्तिम यात्रामा

(विनोद सापकोटा) शिवगञ्ज । मंगलबार बिहान घाम अझै पूर्ण रूपमा चर्किएको थिएन । नजिकैका रुखका हाँगाहरू हल्का हावासँगै बिस्तारै हल्लिरहेका थिए । जेठको दोस्रो साताको गर्मी भए पनि नहरको डिलमा भेला भएका स्थानीयले त्यो ताप खासै महसुस गरेका थिएनन् । त्यहाँको वातावरणमा गर्मीभन्दा धेरै गहिरो पीडा मिसिएको थियो ।

नहरको छेउमै एउटा सानो छाप्रो थियो । छाप्रोभित्र सेता कपडामा बसेका दुई दिदीबहिनीका आँखा राताम्मे देखिन्थे । रातभर न निद्रा परेको थियो, न थकानको गुनासो नै । उनीहरूका अगाडि चोयाको डालो, कुश, तिल र लोटामा पानी राखिएको थियो । घरभित्र आमाको सम्झनाले भारी बनेको सन्नाटा थियो भने बाहिर गाउँलेहरू मौन भएर त्यो दृश्य हेरिरहेका थिए ।

त्यो दृश्य गाउँका लागि असामान्य थियो । धेरैले जीवनमा पहिलोपटक यस्तो देखिरहेका थिए । दुई अविवाहित छोरी आफ्नी आमाको काजक्रिया गरिरहेका थिए । त्यो क्षणले त्यहाँ पुग्ने जो–कोहीको मन भक्कानिन्थ्यो ।

५५ वर्षीया मनमाया बास्कोटाको जेठ ४ गते निधन भएको थियो । उच्च रक्तचाप र नसासम्बन्धी पक्षाघातले थलिएकी उनी लामो समयदेखि ओछ्यानमै थिइन् । उपचार भयो, औषधि चल्यो, आशा पनि गरियो । तर अन्ततः उनी आफ्नै घरको एक कुनामा संसारबाट बिदा भइन् । तर मनमायाको मृत्युले परिवारमा शोक मात्रै ल्याएन, एउटा कठोर प्रश्न पनि छोडेर गयो-“अब उनको काजक्रिया कसले गर्ने ?” मनमायाका छोरा थिए, तर नाममा मात्रै । वर्षौँदेखि बेखबरजस्तै बनेका उनी चार–पाँच वर्षमा एक पटक घर आउँथे र फेरि हराउँथे । बाबुको निधन हुँदा पनि उनी थिएनन्, आमाको अन्तिम यात्रामा पनि आएनन् । परिवारसँग सम्पर्क गर्ने कुनै माध्यम नै थिएन ।

देवर, जेठाजु, नातागोता र आफन्त थिए । तर काजक्रियाको जिम्मेवारी लिन कोही तयार भएनन् । गाउँका मानिसहरू सम्झाउन पुगे, आग्रह गरे- “मरेकी बुहारी, भाउजूको कर्म त गरिदिनुस् ।” तर जवाफ एउटै आयो-“हामी बस्न मिल्दैन ।”

त्यो उत्तरले दुई छोरीको मन टुक्रियो । कनकाई नदीको घाटमा कान्छी छोरी गङ्गा धेरै बेरसम्म रोइन्, कराइन्, चिच्याइन् । आमाको मृत शरीरभन्दा बढी उनलाई आफ्नै आफन्तका कठोर शब्दहरूले पोलिरहेका थिए ।

अन्ततः गंगाले आँसु पुछ्दै दृढ स्वरमा भनिन्- “आमालाई अलपत्र छोड्न सक्दैनौँ । अब काजक्रिया हामी आफैँ गर्छौँ ।” त्यो निर्णय सजिलो थिएन । समाजको डर थियो, संस्कारको दबाब थियो ।“छोरीले कसरी काजक्रिया गर्छे ?” चारैतिरबाट यही प्रश्न उठिरहेको थियो । पुरोहित खोज्न झन् कठिन भयो । कसैले “परम्परा मिल्दैन” भने, कसैले “समाजले के भन्छ ?” भनेर पन्छिन खोजे । तर अन्ततः गाउँकै पुरोहित रत्नप्रसाद दाहाल अघि सरे । सुरुमा उनी पनि अन्योलमा थिए । तर गाउँलेहरूले भने-“धर्म भनेको मृत आत्माको शान्ति हो, छोरी–छोरा छुट्याउने कुरा होइन ।”

 

त्यसपछि दाहालले ती छोरीलाई कुशको जनै लगाइदिए । तर्पण सिकाए । पिण्डदान गराए । दशगात्रको विधि अघि बढाए । कपाल मुण्डन गरिएको छैन, तर बाँकी सबै संस्कार छोराले गरेजस्तै गरिँदैछ । सबैभन्दा मर्मस्पर्शी दृश्य त त्यो बेला देखियो, जब पुरोहित दाहाल आफैँले दाजुभाइले बोक्ने डालो काँधमा बोके । गाउँका वृद्धहरू टाढै उभिएर त्यो दृश्य हेरिरहेका थिए ।

दिदी पवित्राको आवाज अझै काँपिरहन्छ । उनी भन्छिन्-“हामी गरिब भयौँ, त्यसैले माइती पक्षका धेरै मानिस टाढिए । तर आमालाई अन्तिम कर्तव्य बिना कसरी छोड्न सकिन्छ र ?” त्यो घरमा अहिले दुःख मात्रै छैन, एउटा मौन विद्रोह पनि छ । वर्षौँदेखि “छोराले मात्रै गर्न मिल्छ” भनेर बाँधिएको संस्कारलाई ती दुई छोरीले आफ्नो आँसु, साहस र प्रेमले भत्काइदिएका छन् । उनीहरूले कुनै भाषण दिएनन्, आन्दोलन गरेनन् । तर आफ्नी आमाप्रतिको कर्तव्य निभाएर समाजलाई गहिरो प्रश्न सोधिदिएका छन्- “माया, जिम्मेवारी र धर्ममा लिङ्ग किन छुट्याइन्छ ?”

मंगलबार बिहान वडा अध्यक्ष मनोज खुलाल कार्की पनि बास्कोटा निवास पुगे । उनले यस्तो दृश्य आफूले पहिलोपटक प्रत्यक्ष देखेको बताए । “नआत्तिनुस्, वडा कार्यालय तपाईँहरूको साथमा छ,” उनले परिवारलाई ढाडस दिए । उनको त्यो भनाइले छोरीहरूको आत्मबल अझै बलियो बनेको त्यहाँ उपस्थित धेरैले महसुस गरे । आमाको तस्बिर अगाडि बसेर तर्पण गर्दै गर्दा उनीहरू बारम्बार एउटै कुरा दोहोर्‍याइरहेका थिए— “आमाले हामीलाई जन्म दिनुभयो, हुर्काउनुभयो । उहाँको अन्तिम कर्तव्य गर्नु हाम्रो धर्म पनि हो, कर्म पनि हो ।”

गाउँमा अहिले यही घटना चर्चाको विषय बनेको छ । कसैले यसलाई साहस भनेका छन्, कसैले समयको परिवर्तन । तर यो घटनाले एउटा कुरा स्पष्ट बनाएको छ- माया, कर्तव्य र जिम्मेवारीको कुनै लिङ्ग हुँदैन । समाजले वर्षौँदेखि छोरालाई मात्रै अन्तिम संस्कारको अधिकार दिएको थियो । तर शिवसताक्षीका यी दुई दिदीबहिनीले देखाइदिएका छन्- बाबुआमाको अन्तिम यात्रामा छोरीको काँध पनि उत्तिकै बलियो हुन्छ ।

सायद यही परिवर्तनको सुरुआत हो । जहाँ महिलाहरू केवल घर सम्हाल्ने पात्र होइनन्, संस्कार जोगाउने, परम्परा बदल्ने र समाजलाई नयाँ बाटो देखाउने साहसी शक्ति पनि हुन् ।

सम्बन्धित समाचार