२०८३ जेष्ठ ८ गते , शुक्रबार

झापामा सशस्त्र प्रहरीको स्थापना दिवसमा डीआईजी थापाले भने- व्यक्तिगत स्वार्थ र चाहना कहिल्यै पनि राष्ट्रभन्दा माथि हुँदैन

sajilo news
झापा
२०८३ जेष्ठ ८ गते , शुक्रबार
झापामा सशस्त्र प्रहरीको स्थापना दिवसमा डीआईजी थापाले भने- व्यक्तिगत स्वार्थ र चाहना कहिल्यै पनि राष्ट्रभन्दा माथि हुँदैन

भद्रपुर–८ स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाले आफ्नो १९ औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । 
उद्घाटन कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले हाम्रो व्यक्तिगत स्वार्थ र चाहना कहिल्यै पनि राष्ट्र र मुलुकको आवश्यकता भन्दा माथि हुन नसक्ने बताएका छन् । ‘कुनै पनि सुरक्षा संगठनको जग भनेको संगठन आबद्ध अनुशासित, दक्ष एवम् व्यावसायिक जनशक्ति नै हो,’ प्रहरी नायब महानिरीक्षक थापाले भने, ‘कर्तव्यनिष्ठ, इमानदारी र निस्वार्थ भावनाले मात्र राज्यको सुरक्षा र आवश्यकता पूरा हुन सक्छ ।’ 
हामी सबैमा राष्ट्र र जनताप्रतिको सेवा र समर्पणको भाव सदैव अन्तर्निहित जरुरी रहेको उनको भनाई छ । सशस्त्र प्रहरीले राष्ट्रको सुरक्षा, सीमा सुरक्षा तथा शान्ति सुव्यवस्था कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गरेका छन् । 
राज्यले दिएको जिम्मेवारीलाई अझ प्रभावकारी ढङ्गले सम्पन्न गर्न सशस्त्र प्रहरी कर्मचारीलाई उनले निर्देशन दिएका छन् । 
कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, खेलकुद प्रतियोगिता तथा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई प्रमाणपत्र र प्रशंसापत्र प्रदान गरिएको थियो। साथै शहीद परिवारका सदस्यहरूलाई सम्मानसमेत गरिएको  सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिए । 
गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशीले १९ वर्षको अवधिमा गणले गरेका उपलब्धिबारे जानकारी गराउँदै चालु आर्थिक वर्षमा मात्रै रु ११ करोड ११ लाख ८७ हजार १० बराबरको अवैध सामान बरामद गरिएको बताए । 
६६० ग्राम सुन बरामद, स्रोत नखुलेको विदेशी मुद्रा २० हजार अमेरिकन डलर, भारतीय रुपैयाँ १३ लाख ५२ हजार ५१० र नेपाली रकम १२ लाख ८७ हजार १२० अवैध नोट बरामद गरिएको उनले बताए । 
त्यसैगरी एक थान एयर पेस्तोल, १८ थान मेटल बुलेट, ५९८.६४ ग्राम ब्राउनसुगर तथा विभिन्न ट्याब्लेट ४७ वटा बरामद गरिएको र आवश्यक कारबाहीका लागि १३३ जना व्यक्ति सहित १७५ वटा सवारीसाधन सम्बन्धित निकायमा बुझाएको उनको भनाई छ ।  विपद् उद्धारतर्फ ६०५ जना बाढी पीडितको उद्धार, ४ जनाको शव उद्धार तथा आगलागी नियन्त्रणमा २० पटक परिचालन भएको छ । 
साथै १० पटक कृषिसम्बन्धी अभ्यास तथा मेचीनगर नगरपालिका र दुई गाउँपालिकाका १८ दिनको ९१ जना स्थानीयलाई विपद् स्वयंसेवक तालिम सञ्चालन गरिएको उनले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नगर प्रमुख, गाउँपालिका अध्यक्ष, जिल्ला सुरक्षा समितिका  पदाधिकारी तथा उद्योग, व्यवसायी पत्रकार लगायतको सहभागिता रहेको थियो।
 

सम्बन्धित समाचार