२०८३ बैशाख २४ गते , विहीबार

खरबुजा खाएर बिर्तामोडका दुई बालबालिका बिरामी

sajilo news
झापा
२०८३ बैशाख २२ गते , मंगलबार
खरबुजा खाएर बिर्तामोडका दुई बालबालिका बिरामी

भारतको मुम्बईमा खरबुजा खाएर एकै परिवारको चार जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै झापाको बिर्तामोडमा पनि खरबुजा खाएर दुई बालबालिका बिरामी परेका छन् ।

विषाक्त खरबुजा खाएर बिर्तामोडका दुईजना बालबालिका बिरामी परेका हुन् । बिर्तामोड-३ का इन्द्र बुढाथोकीले आफ्‌ना छोराछोरी खरबुजा खाएपछि बिरामी परेको बताए । पेट दुख्ने र वान्ता हुने लक्षण भएपछि बिर्ताबजारको मेडिकलमा लगेर उपचार गराएको उनले बताए । आफ्‌ना छोराछोरी बिरामी परेपछि खरबुजा खान छोडेको उनको भनाई छ ।

करिब एक साताअघि मुम्बईमा खरबुजा खाएपछि एउटै परिवारका चार जनाको मृत्यु भएको थियो । रिपोर्टका अनुसार परिवारका सदस्यले साँझ बिरयानी खाएका थिए । त्यसपछि घरमै भएको खरबुजा खाए । केही घण्टाभित्रै सबैले गम्भीर बान्ता गर्न थाले । पखाला पनि सुरु भयो । उनीहरूलाई अस्पताल लगिए पनि बचाउन सकिएन ।

गर्मीयामको अमृत मानिने खरबुजा घातक हुन सक्छ । यसले ज्यानै जानेगरी गम्भीर खाद्य विषाक्तता निम्त्याउन सक्छ । बजारमा पाइने खरबुजामा हानिकारक रसायन मिसाइएको हुनसक्छ । खासगरी छिटै पकाएर बिक्री गर्ने चक्करमा खरबुजामा विषाक्त रसायन राखिने गर्छ । हेर्दा रातो एवं रहरलाग्दो देखिने खरबुजामा यस्तो रसायन मिसिएको हुनसक्छ । खरबुजा पकाउनका लागि अक्सीटोसिन इन्जेक्सन प्रयोग गरिन्छ । अक्सिटोसिनले पकाइएको फल सेवन गर्दा हर्मोनसँग सम्बन्धित रोग लाग्न सक्छ । यसको असर धेरैजसो महिलामा बढी हुन्छ ।

खरबुजामा सिन्थेटिक रंग पनि प्रयोग गरिन्छ । सैकरिनले खरबुजालाई मिठो बनाउँछ । तर, यो शरीरको लागि हानिकारक हुन्छ ।

सम्बन्धित समाचार