कोशीका मुख्यमन्त्री कार्कीले किन मागे आदिवासी समुदायसँग माफी ?
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वी नेपालमा बसोबासरत आदिवासी समुदायसँग माफी मागेका छन् । सिरुवा पर्वको बारेमा मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा आदिवासी समुदायको भावनामा चोट पुर्याएपछि उनले माफी मागेका हुन् ।
उनले सिरुवा पर्वको शुभकामना दिँदै गर्दा सो पर्व थारु र मैथली समुदायले मनाउने गरेको भनेर उल्लेख गरेका थिए । जबकि सो पर्व बैशाख १ , २ र ३ गते कोशी प्रदेशको तराई भू–भागमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, गनगाई, थारुलगायत आदिवासी समुदायले हर्षोल्लासका साथ मनाउने गरेका छन् ।
राजवंशी, ताजपुरियालगायतका जातिको बहुल क्षेत्र गौरादह घर भएका मुख्यमन्त्री कार्कीले अज्ञानता वा नियतवश जातिहरूको नाम गलत उल्लेख गरेको भन्दै त्यसको चर्को विरोध भएको थियो । उनले सच्याउँदै भनेका छन् ,‘ नेपालको तराई क्षेत्र एवम् कोशी प्रदेशको तराई भू–भागमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, गनगाई, मैथली र थारुलगायत आदिवासी समुदायले हर्षोल्लासका साथ मनाउने सिरुवा पर्वको यसअघि प्रेषित शुभकामना सन्देशमा राजवंशी, ताजपुरिया र गनगाईलगायत समुदायको नाम भूलवश छुट्न गएकोमा सो समुदायमा पर्न गएको असरप्रति क्षमाप्रार्थी छौँ। साथै सो दिन प्रेषित शुभकामना सन्देशमा सुधार गरिएको जानकारी गराउन चाहन्छौँ।’
