लागूऔषध नियन्त्रणमा सक्रिय इन्स्पेक्टर तामाङ कोशीको ‘सर्वोत्कृष्ट प्रहरी’
झापा । 'अपरेसन ब्राउन' अन्तर्गत भद्रपुर क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको भन्दै वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोतीलाल योञ्जन तामाङ कोशी प्रदेशमा चैत महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले आज वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक तामाङलाई चैत महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेका हुन् । प्रहरी निरीक्षक तामाङले विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल तथा साहसका साथ जिम्मेवारी निर्वाह गरेको भन्दै सम्मान प्रदान गरेको जनाइएको छ ।
विशेषगरी “अपरेसन ब्राउन” अन्तर्गत भद्रपुर क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै तामाङले चैत महिनाभर १५ वटा लागूऔषध मुद्दामा संलग्न ३२ जनालाई पक्राउ गर्न सफल भएका थिए । पक्राउ परेकाहरूबाट ३४६ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर र ३ लाख रुपैयाँ नगद बरामद गरेको प्रहरीले जनाएको छ। त्यस्तै उनले भन्सार छलीका करिब १० लाख ४७ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गर्नुका साथै विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई समेत पक्राउ गरेका छन्। उनले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको वडा प्रहरी कार्यालय भद्रपुरको भवन तथा ब्यारेक मर्मत, आवश्यक फर्निचर र विद्युतीय सामग्री व्यवस्थापनमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।
साथै मेची बिटको पुनःस्थापना, प्रहरी चौकी मेचीपारिका लागि नयाँ जग्गा प्राप्ति तथा कार्यालयको नयाँ भवन निर्माणका लागि निरन्तर पहल गरिरहेका छन्। साथै, स्थानीय निकाय, संघ–संस्था र सर्वसाधारणसँग समन्वय गरी सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै नागरिकमा शान्ति सुरक्षाको अनुभूति दिलाउन महत्त्वपूर्ण योगदान पुर्याएको कार्यहरूको उच्च मूल्याङ्कन गर्दै कोशी प्रदेश प्रहरी कार्यालयले उनलाई सम्मान गरेको हो ।