झापामा आधा किलो ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ, त्यसको बजार मूल्य ३० लाखको हारहारी
झापाको कनकाईमा आधा किलो भन्दा बढी ब्राउन सुगरसहित दुई कारोबारी परेका छन् । झापामा प्रति ग्राम ५ हजारले खरिद बिक्री हुने गरेको यसको नेपाली बजार मुल्य करिब ३० लाख रुपैयाँ पर्न जान्छ ।
आज बिहान साढे ११ बजे झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदै गरेको बीआर ३७ आर १८६६ नम्बरको मोटरसाइकललाई कनकाई नगरपालिका-५ तल्लो चप्रामारीमा प्रहरी टोलीले चेकजाँच गर्दा प्लास्टिकबाहेक ५६३ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । प्रहरीले ब्राउन सुगरसहित झापा गाउँपालिका-६ का २२ वर्षीय साफिक उलमिया र भारत बिहार राज्य किशनगञ्ज जिल्ला डिगलबैंक थाना १ का २२ वर्षीय निसार आलमलाई पक्राउ गरेको हो ।
लागूऔषध ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उनीहरूले बोकेको हाते झोलाभित्र खानाको बट्टामा ६ पोका ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।
उनीहरू विराटनगरबाट आएको र सोही ठाउँबाट लागूऔषध ब्युरो विराटनगरको टोलीले पछ्याउँदै आएको जनाइएको छ । उनीहरूलाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ ।