२०८३ बैशाख ५ गते , शनिबार

झापामा वर्षौदेखि दुई दर्जन बढी अवैध क्रसर उद्योग संचालनमा, सरकारले गर्लान त बन्द ?

sajilo news
झापा
२०८३ बैशाख ४ गते , शुक्रबार
झापामा वर्षौदेखि दुई दर्जन बढी अवैध क्रसर उद्योग संचालनमा, सरकारले गर्लान त बन्द ?

झापामा दुई दर्जन बढी अवैध बढी क्रसर उद्योग वर्षौँदेखि सञ्चालनमा रहेका छन् । जिल्लाका सबै क्रसर उद्योग अवैध भए पनि प्रहरी प्रशासनले एउटा पनि बन्द गराउन सकेको छैन । जिल्ला समन्वय समिति झापाको अगुवाइमा वर्षमा दुई पटक क्रसर उद्योगहरूको अनुगमन हुने गरेको छ ।

केही दिनअघि दमक क्षेत्रका क्रसर उद्योगहरूको जिल्ला समन्वय समितिको टोलीले अनुगमन गरेको थियो । अब केही दिनपछि मेचीनगर , बुद्धशान्ति, अर्जुनधारालगायतका क्षेत्रका क्रसर उद्योगको अनुगमन गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समितिले जनाएको छ । त्यस अनुगमनमा प्रमुख जिल्ला अधिकारीलगायत अन्य सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी हुने गरेका छन् । अनुगमनमा जाने र हेरेर फर्किने बाहेक अनुगमन टोलीसँग अरू काम देखिएको छैन ।

झापाका कुनै पनि क्रसर उद्योग वैध नभएको जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वराज बराल बताउँछन् । क्रसर उद्योगहरू दर्ता र नवीकरण गरिएका छैनन् । अनुमति नलिई सञ्चालनमा रहेका छन् । त्यस्तै मापदण्डविपरित खोलेर क्रसर उद्योगहरू जबरजस्त सञ्चालन गरिएका छन् । दुई वर्षअघि अवैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय झापाले अवैध रुपमा क्रसर सञ्चालन गर्नेहरूलाई बन्द गर्न निर्देशन दिएको थियो । तर, कुनै पनि बन्द भएनन् ।

झापामा घरेलु कार्यालयको तथ्याङ्क अनुसार १२ वटा क्रसर उद्योग दर्ता रहेको देखिन्छ ।१२ उद्योगमध्ये कसैले पनि मापदण्ड पुरा गरेका छैनन् । घरेलुले प्रशासनलाई दिएको प्रतिवेदनअनुसार कुनै पनि क्रसर उद्योगहरूले नवीकरण समेत गरेका छैनन् । घरेलुको तथ्याङ्कमा १२ वटा उद्योग देखिएपनि जिल्लाभर ३० भन्दा बढी उद्योग सञ्चालनमा रहेका छन् ।

अघिको मापदण्ड अनुसार तराईमा घना बस्तीबाट १ किलोमिटर र पहाडमा ५०० मिटर छाडेर नदीजन्य पदार्थ निकाल्न पाउने व्यवस्था रहेको थियो । ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ को पहिलो संशोधन अनुसार तराईमा घना बस्तीबाट १ किलोमिटर र पहाडमा ५०० मिटर छाडेर नदीजन्य पदार्थ निकाल्न पाउने व्यवस्था संशोधन गरेर नयाँ मापदण्डमा तराई क्षेत्रमा राजमार्गको ५०० मिटर र पहाडमा २०० मिटर छाडेर क्रसर उद्योग चलाउन पाउने व्यवस्था गरिएको छ ।

यसअघि वनबाट २ किलोमिटरसम्म क्रसर चलाउन नपाइनेमा त्यसलाई घटाएर ५०० मिटर कायम गरिएको छ । लोकमार्गबाट ३०० मिटर, खोला किनारबाट २०० किलोमिटर र पुलबाट ५०० मिटर छोडेर क्रसर उद्योग सञ्चालन गर्न नयाँ मापदण्डले बाटो खोलेको छ । झापामा नयाँ मापदण्ड अनुसार समेत क्रसर उद्योगहरू सञ्चालनमा रहेका छैनन् ।

सम्बन्धित समाचार