२०८२ चैत्र १६ गते , सोमबार

झापामा ‘पाँच पाण्डव’ को छायांकन, जोडिए इभा र प्रशान्त

sajilo news
झापा
२०८२ चैत्र १६ गते , सोमबार
झापामा ‘पाँच पाण्डव’ को छायांकन, जोडिए इभा र प्रशान्त

काली रानी फिल्मस्को व्यानरमा निर्माण भइरहेको चलचित्र ‘पाँच पाण्डव’को यतिबेला पूर्वी नेपालको झापामा धमाधम छायांकन भइरहेको छ । छायांकन सुरु भएको दुई साता बितिसक्दा निर्माण पक्षले चलचित्रको कलाकार टोलीमा थप दुई पात्रलाई भित्र्याएको छ । चलचित्रमा भर्सटायल अभिनेता प्रशान्त ताम्राकार र चर्चित कन्टेन्ट क्रिएटर तथा मोडल इभा गिरीको प्रवेश भएको हो ।

छायांकनको १४औं दिनमा उनीहरु सेटमा जोडिएसँगै चलचित्रको क्यानभास अझ फराकिलो बनेको निर्देशक वसन्त निरौलाले बताए । गत चैत २ गते नेपाल–भारत सीमावर्ती शहर काँकडभिट्टाबाट शुभमुहूर्त गर्दै छायांकन थालिएको यस चलचित्रमा नेपाली सिने जगतका दिग्गज र नयाँ पुस्ताका चर्चित कलाकारहरूको समिश्रण छ ।

चलचित्रका मुख्य ‘पाँच पाण्डव’को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) छन् । यी पाँच पात्र केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिन्छ ।

चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै पौराणिक वा धार्मिक कथा नभई पूर्णरूपमा ‘सोसल ड्रामा’ (सामाजिक कथा) भएको लेखक सुशील पौडेलले स्पष्ट पारे । चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्ब प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
 

सम्बन्धित समाचार