हुण्डीको ९ लाख रुपैयाँसहित एक जना पक्राउ
वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पर्साको वीरगन्ज महानगरपालिका - ८ गहवाका ४४ वर्षीय अनिलकुमार साह चेकिङको क्रममा पक्राउ परेका हुन्।
भारतको रक्सौलबाट वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गरेको साहले चलाएको ना २ प ९५८७ नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीले वीरगन्ज-१६ स्थित वीरगन्ज भन्सार कार्यालय अगाडिको सडकमा रोकेर जाँच गरेको थियो । त्यसक्रममा उक्त मोटरसाइकलको सिटकचर मुनि लुकाएर राखिएको अवस्थामा नेपाली १ हजार दरका नोट ९०० थान बरामद भएको पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले जानकारी दिए।
बरामद उक्त रकमको स्रोत साहले खुलाउन नसकेपछि रकम र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिइएको अधिकारीले बताए । बरामद रकम हुण्डी कारोबारको हुन सक्ने सशस्त्र प्रहरीले जनाएको छ। बरामद रकम र मोटरसाइकलसहित साहलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको अधिकारीले जानकारी दिए।