काश्मिरमा झडप, दुई भारतीय सैनिकको मृत्यु
काश्मिर । भारत प्रशासित काश्मिरमा शुक्रबार दुई सैनिकको मृत्यु भएको छ। सेनाले विवादित क्षेत्रमा आतङ्ककारीले विछ्याएको विष्फोटक पदार्थका कारण मृत्यु भएको आरोप लगाएको छ । सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'चट्टानी र भिरालो क्षेत्रमा एउटा खोजी टोलीले गुफामा बसेका आतङ्ककारीहरूको एक समूहलाई भेटेको छ ।' त्यसपछि संदिग्ध विद्रोहीले विष्फोटक पदार्थ विष्फोट गराउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार सैनिक घाइते भएका थिए ।
सन् २०१९ मा नयाँ दिल्लीले कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि कश्मीरमा केन्द्रविरोधी आक्रोश बढेको छ । सन् १९८९ देखि विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै भारत नियन्त्रित क्षेत्रमा तैनाथ करिब पाँच लाख भारतीय सैनिकसँग लडेका छन् । यस क्रममा अहिलेसम्म दशौं हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएका छन् ।