२०८२ चैत्र १६ गते , सोमबार

जुनकिरीका विद्यार्थीलाई  वीरता जेसीजको न्यानो टोपी र खाद्यान्न

sajilo news
पार्थ मण्डल
२०७७ माघ २० गते , मंगलबार
जुनकिरीका विद्यार्थीलाई  वीरता जेसीजको न्यानो टोपी र खाद्यान्न

बिर्तामोड । वीरता जेसीजले झापाको अर्जुनधारा–११ देउनिया वस्तीस्थित जुनकिरी सार्वजनिक प्राथमिक विद्यालयमा अध्ययनरत कारागारमा रहेका कैदी बन्दीका छोराछोरी, असहाय र विपन्न  विद्यार्थीलाई   खाद्यान्न र न्यानो टोपी वितरण गरेको छ ।

बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृहमा आवासिय रुपमा रहेर जुनकिरी सार्वजनिक प्राथमिक विद्यालयमा अध्ययनरत उनीहरूलाई   वीरता जेसीजका अन्तर शाखा समन्वय संयोजक जीवन खड्काका छोरा जीसल खड्काको जन्मदिनको अवसर पारेर वीरता जेसीजले खाद्यान्न र न्यानो टोपी प्रदान गरेको हो ।

वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा जुनकिरी सार्वजनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा वीरता जेसीजका अन्तर शाखा समन्वय संयोजक जीवन खड्काले स्वागत गरेका थिए ।

 वीरता जेसीजका संयुक्त सचिव टीकाराम खतिवडाले आस्था वाचन गरेको कार्यक्रममा प्रकरण निर्देशक कमल श्रेष्ठले जेसीआई मिसन भिजन वाचन गरेका थिए ।

 कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष विशाल थापा, वीरता जेसीजका अध्यक्ष राजीव धिमाल, कार्यक्रम संयोजक जीवन खड्कालगायतले उक्त सामग्री बन्दी सहायता नेपालका पूर्वाञ्चल अध्यक्ष जगतबहादुर राना मगर, जुनकिरी सार्वजनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारलाई हस्तान्तरण गरेका थिए ।  

 उक्त विद्यालयमा विभिन्न कारागारमा कैदी जीवन बिताइरहेका कैदी बन्दीका छोराछोरी , असहाय बालबालिका , दैनिक ज्यालादारी गर्ने कृषि मजदुर, रिक्सा चालक तथा भ्यान चलाउने यातायात मजदुर र सुकुम्वासी परिवारका छोराछोरीहरू अध्ययन गर्ने र उनीहरूलाई खाद्यान्न र न्यानो कपडाको अभाव भएकाले विद्यालयको अनुरोधमा वीरता जेसीजले उक्त सामग्री प्रदान गरेको अध्यक्ष राजीव धिमालले बताए ।

कार्यक्रममा बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृहमा आवासीय रुपमा रहेर जुनकिरी सार्वजनिक प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयमै आएर सामाग्री प्रदान गरेकोमा जुनकिरी सार्वजनिक प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले वीरता जेसीजको गुन कहिल्यै नबिर्सने बताए ।

कार्यक्रममा सहभागी शिक्षा सेवी तथा साहित्य चौतारी झापाका अध्यक्ष हस्त बहादुर परियार, गायक तथा सामाजिक अभियन्ता गणेश ढुङ्गाना लगायतले वीरता जेसीजले गरेको कार्यको प्रशंसा गरेका थिए ।  

वीरता जेसीजका कोषाध्यक्ष दिवाकर प्रसाईँले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी)ले गरेको अवार्ड संयोजक सञ्जय राजवंशीले जानकारी दिए ।  

सम्बन्धित समाचार