पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु, जाजरकोटमा ३ बेपत्ता
रोल्पाको लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो ।
यस्तै जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा तीन जना बेपत्ता भएका छन्। १० जना घाइते भएका छन्।
हिजो दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङ स्थित विभिन्न स्थानमा पहिरो गएको हो। पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका–२ फारुला बस्ने करिब ५४ वर्षीय उमासिंह खत्री, सोही नगरपालिका–२ चिसापानी बस्ने करिब ७० वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका–२ बस्ने करिब ८७ वर्षीया रती खत्री सम्पर्कविहीन भएका छन्।
सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ।
पहिरोमा परी १० जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए।