आज साउनको अन्तिम सोमबारः ‘सोमप्रदोष व्रत’को संयोग, देशभरका शिवालयमा घुइँचो
आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ।साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्। साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ।
साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन्। बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ। उनीहरुले काठमाडौंको सुन्दरीजलबाट ल्याएको जल पशुपतिमा चढाएर पूजापाठ गर्दछन्।
काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर, दाङको धारपानी लगायतका शिवालयहरुमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुइँचो लागेको छ।
सोमप्रदोष व्रतको संयोग
यसपटकको साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको संयोग परेको धर्मशास्त्रका जानकारहरु बताउँछन्। उनीहरुका अनुसार सोमबारको दिन त्रयोदशी तिथी परेमा सोमप्रदोष भनिन्छ। ‘प्रदोष’ भनेको सामान्यतः सूर्यास्तअघि÷पछिको विशेष समय हो, जुन शिवपूजाका लागि शुभ ठानिन्छ।
प्रदोषकाल, अर्थात् साँझ सूर्यास्त आसपासको समयमा शिव मन्दिरमा गएर दीप प्रज्वलनसहित पूजा आराधना गर्दा सुख, शान्ति र समृद्धि मिल्ने विश्वास गरिन्छ। यस दिन दूध, दही, घ्यु, बेलपत्रले पूजा गर्दै पहेँलो चिज चढाएमा शुभ हुने बताइन्छ।
बोलबम यात्रा गर्न सुन्दरीजलमा भक्तजनको भीड
सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा जम्मा भएका छन्। प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजन स्नान गरी शुद्ध कपडा लगाएर जल पशुपतिनाथ मन्दिरमा चढाउने गर्छन्।
आइतबारको बोलबम यात्राको आयोजना बोलबम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपाललगायत संस्थाले गरेका हुन्। बोलबमका लागि भक्तजन आइतबार राति नै सुन्दरीजल आएर स्नानलगायत नित्यकर्म गरी जल लगेर पशुपतिनाथ मन्दिरमा चढाउने गर्छन्। बोलबम यात्रामा करिब १० हजार बढी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाले जानकारी दिए।
राति १२ः०० बजेसम्म भजनकीर्तन गरी बस्ने भक्तजनले त्यसपछि भने स्नान गरी जल बोकेर खाली गोडा सुन्दरीजलबाट पशुपतिनाथसम्मको यात्रा गरी आराध्यदेव भगवान् श्री पशुपतिनाथलाई जल चढाउने गर्दछन्।
पशुपतिनाथमा बोलबम यात्रीका लागि जल चढाउन उत्तरतर्फको ढोकाको व्यवस्था गरिएको छ। भक्तजन बासुकी हुँदै उत्तरढोकाबाट जल चढाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले जानकारी दिए।
साउनको सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सहज रूपमा दर्शनका व्यवस्था मिलाउन आज बिहान ३ः०० बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो।