गृहमन्त्री र मृतक यादवका परिवारबीच ८ बुँदे सहमति
सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुधन गुरुङबीच ८ बुँदे सहमति भएको छ ।
परिवारले अघि सारेका पाँचबुँदे मागमा सरकारका तर्फबाट थप तीन बुँदा समावेश गर्दै आठबुँदे सहमति गरिएको गृहमन्त्री गुरुङले सञ्चारकर्मीसँग बताएका छन् ।
गृहमन्त्रीका गुरुङका अनुसार सहमतिमा घटनाको सत्यतथ्य छानबिन गर्ने, गणेशलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने सहमति भएको छ ।
मृतकका दाइ र बहिनीलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क शिक्षा प्रदान गर्ने, गणेशको नाममा पार्क निर्माण गर्ने, उनका बुबाआमालाई समेत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर आज नै दाहसंस्कार गर्ने सहमति भएको छ । दाहसंस्कारका लागि आवश्यक खर्चसमेत सरकारले उपलब्ध गराउने उनले बताए ।
शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए । अनुसन्धानमा सहजता होस् भन्ने उद्देश्यले त्यहाँ पठाइएको र शनिबार हेलिकोप्टरमार्फत शव सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने उनले जानकारी दिए ।