सशस्त्रद्वारा लागूऔषधविरुद्ध सचेतनामूलक नाटक र कक्षा सञ्चालन
सशस्त्र प्रहरी बलले अन्तर्राष्ट्रिय लागूपदार्थ तथा तस्करीविरुद्ध दिवसको अवसरमा सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रमअन्तर्गत पहिलो दिन स्थानीय समुदाय र विद्यार्थीहरूलाई सचेत गराउने उद्देश्यले सचेतनामूलक नाटक र कक्षा सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेक्वा झापाको आयोजनामा मेचीनगर –६ काँकडभिट्टास्थित खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभा हलमा सचेतनामूलक नाटक र कक्षा सञ्चालन गरिएको हो । कार्यक्रममा लागूऔषधको प्रयोग, ओसार–पसार तथा यसको सामाजिक, आर्थिक र स्वास्थ्य क्षेत्रमा पर्ने नकारात्मक प्रभावबारे सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै सशस्त्र प्रहरी कर्मचारीहरूद्वारा लागूऔषधले एउटा व्यक्तिको जीवन, परिवार, समाज र राष्ट्रलाई कसरी प्रभावित पार्छ भनेर सन्देशमूलक नाटकसमेत प्रस्तुत गरिएको थियो ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उपअनुसन्धान निर्देशक उमेश पाण्डे लगायतको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि प्र.जि.अ. गेलालले युवा पुस्तालाई लागूऔषधको जोखिमबाट जोगाउन परिवार, विद्यालय, समुदाय तथा सुरक्षा निकायहरुबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउँदै सशस्त्र प्रहरी बल, नेपाललाई यस्ता किसिमका सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद दिँदै समाजमा सकारात्मक सन्देश प्रवाह भएको विश्वास व्यक्त गरे ।