पैसामा कुरा नमिल्दा रमाको घाँटी थिचेर हत्या, भारतीय नागरिक पक्राउ
झापा । झापा दमककी युवती हत्या आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने भारतको बिहार राज्य, अररिया जिल्ला, ग्राम पञ्चायत सिरसियाकाल थाना भरगा निवासी ३४ वर्षीय राकेशकुमार पण्डित रहेका छन्। ९ दिनपछि पक्राउ परेका घटना आरोपी पण्डितलाई शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन्।
पण्डितले जेठ १३ गते दमक नगरपालिका–८ स्थित बसन्त टोल निवासी २१ वर्षीया रोमा (रमा) तिवारीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी कार्यालय झापाका एसपी बसुन्धारा खड्काले बताइन्। घटना विवरण टाइल्स मिस्त्रीको काम गर्दै आएका आरोपी पण्डित दमक नगरपालिका–५ मा डेरा गरी बस्दै आएका थिए।
घटना घटेकै राति साढे ९ बजे रमासँग पण्डितको भेट भएको थियो। पण्डितले रमामा मे २ प ८२३ नम्बरको मोटरसाइकलमा चढाएर उनकै डेरा नजिकको बाँसघारीमा लगेका थिए। त्यहाँ पुगेपछि दुवै उनीहरूबीच कुराकानी नमिलेपछि पैसासम्बन्धी विवाद उत्पन्न भई झगडा भएको थियो। ‘झगडाको क्रममा पण्डितले सुरुमा रमाको घाँटी थिचेर बेहोस बनाए, पछि फेरि पाइपले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ एसपी खड्काले भनिन्।
घटनापछि रमाको शवलाई सेतो रङ्गको प्लास्टिकको बोरामा हालेर पण्डितले बीआर ३८ एएम ३७७८ भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा हालेर सोही दिन मध्य राति दमक–१० स्थित रतुवा खोलाको पुलमुनि फालेर फरार भएका थिए। ‘अहिलेसम्मको अनुसन्धानबाट पण्डितले एक्लैले घटना गरेको देखिन्छ, थप अनुसन्धानबाट खुल्नेछ,’ एसपी खड्काले थपिन्। घटना घटेको चार दिन पछि रमाको शव खोलामा फेला परेको थियो। तत्काल रमाको पहिचान नखुलेपछि प्रहरीले बायाँ हातमा रहेको ट्याटुको एउटा फोटो सार्वजनिक गरेको थियो। सोही ट्याटुको आधारमा उनको पहिचान जेठ १७ गते खुल्यो। घटना घटेको राति रमा घरबाट आफूखुसी हिँडेको र घर फर्किएको परिवारजनले बताएपछि प्रहरीले रमाको मोबाइल लोकेसन र सीसीटीभी फुटेजको सहयोगमा सूक्ष्म अनुसन्धान सुरु गर्यो।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय दमकसहितको संयुक्त प्रहरी टोलीले सीसीटीभी क्यामेराकै सहयोगमा आरोपीको पहिचान गर्न सफल भएको बताइएको छ। आरोपी समक्ष पुग्न सीसीटीभी फुटेजले महत्त्वपूर्ण सहयोग गर्यो। त्यसपछि आरोपी खोज्न थालेऔँ। भारत फरार भइसकेका उनी फेरि दमकको डेरामा आएपछि बिहीबार राति ११ बजे पक्राउ परेको एसपी खड्काको भनाइ छ। आरोपीको साथबाट तीन थान मोबाइल भेटिएको छ। मोबाइलको जाँचपछि थप कुरा बाहिर आउने उनले बताइन्। पण्डितलाई ज्यान सम्बन्धी कसुर र जबरजस्ती करणी कसुरमा मुद्दामा झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ।