बलिउड अभिनेता राजपाल यादवले पाए जमानत
चेक बाउन्स मुद्दामा तिहाड जेलमा सजाय काटिरहेका बलिउड अभिनेता राजपाल यादवलाई दिल्ली उच्च अदालतले अन्तरिम जमानत दिएको छ। अदालतको आदेशसँगै यादव अब आगामी मार्च १८ सम्म जेलबाहिर रहनेछन्।
न्यायाधीश स्वरण कान्त शर्माको इजलासले सोमबार उक्त आदेश दिँदै यादवलाई सर्तसहित अन्तरिम जमानत स्वीकृत गरेको हो। अदालतले दिउँसो ३ बजेसम्म उजुरीकर्ताको नाममा १.५ करोड रुपैयाँ जम्मा गर्न निर्देशन दिएको थियो।
अदालतको सर्तअनुसार यादवले तोकिएको समयमै रकम बुझाएपछि उनलाई मार्च १८ सम्मका लागि रिहा गरिएको हो। यसका साथै १ लाख रुपैयाँ व्यक्तिगत धरौटी र सोही बराबरको जमानत बुझाउने सर्त पनि राखिएको छ।
सुनुवाइका क्रममा यादवका वकिलले मानवीय आधारमा जमानतको माग गरेका थिए। यादवकी भान्जीको विवाह फेब्रुअरी १९ मा तय भएको र परिवारमा उनको उपस्थिति आवश्यक रहेको दाबी अदालतसमक्ष पेश गरिएको थियो। अदालतले होली पर्व र पारिवारिक अवस्थालाई ध्यानमा राख्दै राहत दिएको जनाएको छ।
यो मुद्दा सन् २०१० मा रिलिज भएको फिल्म ‘आता पता लापता’ को निर्माणको क्रममा ५ करोड रुपैयाँ सापटी लिएको र ९ करोड रुपैयाँ बक्यौता रकम फिर्ता गर्न नसकेको बारेमा हो। सो ऋण चुक्ता गर्न उनले दिएको चेक बाउन्स भएपछि उनीविरुद्ध कानुनी मुद्दा सुरु भएको थियो । लामो समयदेखि चल्दै आएको यो विवादका कारण उनले कारागारको सजाय भोग्नुपरेको हो ।
यसै विषयमा दिल्ली उच्च अदालतले उनलाई आत्मसमर्पण गर्न फेब्रुअरी ४ सम्मको समय दिएको थियो। राजपाल फेब्रुअरी ५ मा तिहाड जेल पुगेका थिए। अदालतले राजपाल यादवलाई आगामी मार्च १८ मा हुने सुनुवाइमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
यसअघि पनि सन् २०१३ मा राजपाल यादवलाई झूटो शपथपत्र दायर गरेको मुद्दामा डिसेम्बर ३ देखि डिसेम्बर ६ सम्म तिहाड जेल पठाइएको थियो।